१३ प्रतिशतसम्म व्याजदरको लोभमा खाता खोल्नेहरुले अब कति पाउलान ब्याज ?

Advertisement

काठमाडौं । बाणिज्य बैंकदेखि विकास बैंकसम्मले दोहोरो अंकको आकर्षक ब्याजदरलाई एकल अंकमा झारेसँगै यसअघि आकर्षक ब्याजदरको लोभमा खाता खोलेका ग्राहकहरुमा अब कति ब्याज पाइएला भन्ने खुल्दुली बढेको छ ।

लगानीयोग्य पुँजीको अभाव खेप्दै आएका बैंकहरुबीच ब्याजदर वृद्धि गर्न होड चलिरहेको बेला त्यसको चौतर्फी विरोध भएपछि उनीहरु पछि हट्न बाध्य भएका छन् । तर यस पटक भने उनीहरुले यसअघि मुद्दती निक्षेपमा खाता खोलेर पैसा जम्मा गराइसकेका ग्राहकहरुको भने त्यसको अवधि कायम रहेको बेलासम्म पूरानै ब्याजदरमा र नयाँ खाता खोल्नेहरुका लागि मात्रै एकल अंकको ब्याजदर दिने भएका छन् ।

बाणिज्य बैंकहरुले पछिल्लो समयमा व्यक्तिगत मुद्दतीमा १३ प्रतिशतसम्मको ब्याजदरको सुविधा देखाउँदै ग्राहक आकर्षण गरेका थिए । विकास बैंकहरुले त्यो भन्दा बढिको आकर्षण देखाएका थिए । तर बिहीबार बाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम् ९.२५ र विकास बैंक ९.७५ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेसँगै धेरै ब्याजको लोभमा खाता खोल्नेहरु भने अब निरुत्साहित हुने भएका छन् ।

बैंकहरुबीचको ब्याजदर वृद्धिको होडको चौतर्फी आलोचना हुन थालेपछि उनीहरु पछि हट्न बाध्य भएका हुन् । नियामक निकायले समेत उनीहरुलाई ब्याजदर घटाउन दबाब दिएको थियो । यसबाट आकर्षक ब्याजको लोभ देखाएर खाता खोलाउने र निक्षेप लिने प्रवृत्तिमा कमी हुने भएको छ ।

अब उनीहरु जुनसुकै बाणिज्य बैंकमा गए पनि अधिकतम् ९.२५ र जुनसुकै विकास बैंकमा गए पनि अधिकतम् ९.७५ प्रतिशतसम्म ब्याज पाउने छन् । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहका अनुसार मुद्दती निक्षेप भएका ग्राहकले यसअघि जुन व्याजदरमा खाता खोलेको छ सोही ब्याजदरमा र नयाँ खाता खोल्नेले नयाँ कायम गरिएको ब्याजदर मात्र पाउने छन् ।

त्यस्तै यसअघि बचतमा सात प्रतिशत ब्याजदर दिँदै आएका बाणिज्य बैंकहरुले अब बढिमा साढे ६ प्रतिशत मात्रै पाउने छन् । यदि ब्याज घटाइए त्यसको सुचना बचतकर्तालाई दिइनेछ भने संस्थागत मुद्दतीमा यसअघि ९ प्रतिशत व्याजदर दिँदै आएको उनीहरुले अब साढे ८ प्रतिशत मात्रै दिने भद्र सहमति गरेका छन् । तर यसअघि नै खाता खोलिसकेका संस्थागत निक्षेपकर्ताले भने पूरानै ब्याजदर पाउने छन् ।

Advertisement

Advertisement

Advertisement