राजावादी भेट्न पूर्वराजा मध्य र पूर्वी नेपाल जाने

Advertisement

काठमाडौं । पछिल्लो समय पूर्व राजावादीको चलखेल बढिरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जाने भएका छन् । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लागेका हुन् ।

माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउतसहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरास्थित प्रभुशमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उनी सिमराबाट पूर्वी तराईको भ्रमण गर्नेछन् ।

पूर्व राजाको सुरक्षासहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छेसमेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाईपछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ ।

दमक पुग्नुअघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिले सम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ– स्रोतले भन्यो । सिमरा बसाइका क्रममा उनले आफू निकट तीनवटै राप्रपाका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । अहिले को–को सँग भेट गर्ने ? भन्ने टुंगो लागेको छैन स्रोतले भन्यो– तर सिमरामा उच्च तहका राजनीतिक नेतासँग भेट्ने गरी योजना तय भएको छ ।

दमकमा पूर्वरानी कोमलको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको छ । फागुन ७ गते कोमलको जन्मदिन हो । दमक रहदा आफ्नै स्वामित्वमा रहेको दमकस्थित हिमालय टि स्टेटमा बस्ने कार्यक्रम रहेको छ । मध्य तराई र पूर्वको एक महिना लामो भ्रमणको योजना बनाएका पूर्व ज्ञानेन्द्रले दमक बस्दा पूर्वाञ्चल र सिमरामा बस्दा तराईका राप्रपा र आफू निकटका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । अघिल्लो वर्ष दमक पुगेका पूर्वराजाले तीनवटै राप्रपाका तेस्रो तहका नेतासँग भेट गरी सबै राप्रपा एकढिक्का भएर हिन्दुराज्यको पक्षमा लाग्न आग्रह गरेका थिए । लगत्तै ती नेताले राप्रपाभित्र एकता आवश्यक रहेको बताउँदै पार्टी एकता गर्न लबिङ गरेका थिए ।

गत पु्स २ गते पोखरा पुगेका ज्ञानेन्द्रले भेट गरेका अधिकाँश नेताहरुले हिन्दु धर्म र राजतन्त्रलाई सँगै लैजानुपर्ने विषयमा बहस गरेका थिए । त्यहाँ अधिकाँश नेताले ज्ञानेन्द्रलाई हिन्दुराज्य कायम गर्न सक्रिय हुन सुझाव दिएका थिए । लगत्तै योजनाबद्धरुपमा मध्य तराई र पूर्वाञ्चलको भ्रमण तय गरेका हुन् ।

पूर्व राजाका संवाद सचिव फाणिराज पाठकले निजी भ्रमणको सिलसिलामा सिमरा र दमक जान लागेको जानकारी दिए । पोखरा बसाईका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा , पूर्व मन्त्री लगायत केही राजावादीसँग भेट गरेका थिए । सो क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले ज्ञानेन्दसँग भेटे लगत्तै फागुन ७ गतेबाट हिन्दु धर्मको पक्षमा आन्दोलन गर्ने घोषणा गरेका थिए । सो क्रममा ज्ञानेन्द्रले करिब चार सय राजावादी, राप्रपा र मधेशवादी दलका नेतालाई भेट गरेका थिए ।

पूर्वराजाले भेट गर्न चाहेका नेता र कार्यकर्ताको नाम उपलब्ध गराएपछि निजी सचिव तिमल्सिना र केही कर्मचारीले सम्बन्धित व्यक्तिलाई मोवाइलमार्फत जानकारी दिएर भेट गर्ने प्रचलन रहेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement