क्यानडा पठाइदिन्छु भन्दै दुवई पुर्‍याएर बेचबिखन

Advertisement

काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका ३ ठेगाना भई नागर्जुन नगरपालिका १ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाईसकेको भनी प्रलोभन देखाउँदै पीडितलाई वई पुर्‍याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए । 

Advertisement

घटनामा संलग्न रही फरार रहेका हवारीलाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

हवारीले क्यानडा जानको लागि ३० लाख रूपियाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रूपियाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ । 

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न  अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको जनाइएको छ । 

त्यस्तै, अढाई वर्षकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका १३ घर भई जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखी पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्‍याई भारत
सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरीको राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती
बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको प्रहरीको भनाई छ । 

मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, प्रहरीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका ५ घर भई चावहिल बस्ने ५२ वर्षीय कुलबहादुर लिम्बु र झापा दमक नगरपालिका ५ घर भई बुढानिलकण्ठ नगरपालिका ६ हात्तीगौँडा बस्ने ३८ वर्षीय विजय भण्डारी रहेका छन् ।   

पक्राउमध्ये कुलबहादुरले क्रोएसिया पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट दुई लाख
५५ हजार रूपियाँ ठगी गरेको र विजयले स्पेन पठाईदिन्छु भन्दै आठ जना पीडितहरूबाट ५६
लाख रूपियाँ ठगी गरेको खुल्न आएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
मिनभवनबाट खटिएको प्रहरीले कुलबहादुरलाई काठमाडौं जोरपाटी र विवेकलाई
काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । 
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग
ताहाचल काठमाडौं पठाइएको छ ।

Advertisement