पूर्वलडाकुहरुले माओवादी शिविरमा करोडौं भ्रष्टाचार गर्ने २८ कमाण्डरको नाम सार्वजनिक गर्ने

Advertisement

काठमाडौं । तत्कालिन माओवादी विद्रोहीले बनाएको जनमुक्ति सेनामा रहेर युद्ध लडेका बहिर्गमित लडाकुहरुले पूर्वजनमुक्ति सेनाको अस्थायी शिविरमा भ्रष्टाचार गर्नेहरुको नाम सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले तत्कालिन जनमुक्ति सेनाका सात वटा डिभिजन र २८ बिग्रेडका कमाण्डरहरु भ्रष्टाचारी भएको सार्वजनिक गरेको हो ।

संगठनका अध्यक्ष असिम लिम्बु ‘सुनिल’ले राज्यबाट जनमुक्ति सेनाको नाममा गएको अर्बौ रकम कमाण्डरहरुले भ्रष्टाचार गरेको बताए । उनले भने, “ब्यारेकमा कसले कति भ्रष्टाचार गरेको छ ? भन्ने कुरा हामीलाई जानकारी छ । उनीहरु सबै कमाण्डरहरु भ्रष्टाचारमा सहभागी छन् । हामी तीन चार दिनमा सबै विवरणसहित सार्वजनिक गर्दैछौं ।’

लिम्बुले आफूहरुको नाममा आएको रकम कुम्ल्याएको र भाडा नै नदिएर अयोग्यको बिल्ला भिराएर जबरजस्ती घर पठाइएको गुनासो गरे । उनले आफूहरुले शान्तिपूर्ण समस्या समाधानको लागि वार्ता गरेको तर राज्यपक्ष जिम्मेवार नहुँदा सफल नभएको बताउँदै अब कडा संघर्षमा जाने चेतावनी दिए ।

अर्का लडाकु तेजबहादुर बुढाथोकी ‘अर्जुन’ले आफूहरु शान्ति प्रक्रियालाई टुंगोमा पुगोस् भनेर ब्यारेबाट निस्केको बताउँदै राज्यले अपमानजनक व्यवहार गरेको बताए । उनले सरकार र सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करण’ले आफूहरु प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भनेर नभएर तत्कालिन सर्वोच्च कमाण्डर प्रचण्डको आदेशमा ब्यारेक छोडेको बताए । उनले समस्याको समाधानको पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताए । राष्ट्र संघको रोहबरमा आफूहरुको व्यवस्थापन गर्ने भन्दै बाहिर पठाइएको बताए सुनाए ।

संगठनका अर्का उपाध्यक्ष योग्यबहादुर कार्की ‘प्रदिप’ले अहिलेसम्म आफूहरुले बोलेर आफ्ना मागबारे जानकारी गराईरहेको बताउँदै सरकारले समस्या समाधान गर्न नचाहेको बताए । उनले आफूहरुले बोल्न छोड्ने दिन आउन सक्ने चेतावनी समेत दिए ।

हालै काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा संगठनका महासचिव राजन थापा ‘सुवास’ले आफूहरुसँग तत्कालिन सरकारले गरेका वाचा पूरा नगरेको बताए । उनले शान्तिप्रक्रिया नटुंगिएको जिकिर गरे । थापाले कोही व्यक्ति प्रधानमन्त्री र मन्त्री हुँदैमा शान्तिप्रक्रिया नटुंगिने बताउँदै समस्या समाधान नगरे कडा संघर्षमा जाने बताए । उनले जनमुक्ति सेनाको ब्यारेकमा भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्ने बताए ।

कार्यक्रममा भीमबहादुर तामाङले ब्यारेकमा भएको भ्रष्टाचारको प्रमाण आफूहरु नै भएको बताए । उनले आफूहरुबाट कटाएको पैसा कहाँ गयो ? भन्दै भने, “हाम्रो नाममा एक हजारको दरले काटिएको पैसा कहाँ गयो ? गाडी कहाँ गए ? भौतिक संरचना निर्माण हामीले गरेको हो । त्यसको नाममा गएको रकम कहाँ गयो ?”

केन्द्रीय समिति बैठकले सातवटै प्रदेशको इन्चार्ज पनि तोकेको छ । जसमा प्रदेश नं. १ मा मिसन शेर्पा ‘मिसन’, प्रदेश २ मा लक्ष्मी गौतम ‘अप्सरा’, प्रदेश नं. ३ मा पुष्कर सेढाई ‘ज्वाला’, प्रदेश नं. ४ रेमबहादुर पुन ‘विश्वास’, प्रदेश नं. ५ मा सुरज बुढा मगर ‘सुरज’, कर्णाली प्रदेशमा अनिता परियार ‘पूर्णिमा’ र सु्दूरपश्चिम प्रदेशमा रेश्मी शाही ‘रचना’लाई इन्चार्ज तोकेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement