पाँच करोडको लागतमा पार्क निर्माण गरिने

दमौली ।  तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा  पाँच करोड रुपियाँको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ ।

यसअघि फुटबल मैदानका रुपमा रहेको व्यास नगरपालिका वडा नं ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रूपमा विकास गर्न लागेको वडा नं ३ का सदस्य रविन पौडेलले जानकारी दिए  । उनले भने, “नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिको मैदानलाई खेल मैदान बनाएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको हो ।”

ss-college

पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्ने उनले जानकारी दिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत अध्ययन भएपछि पार्क निर्माण गर्ने जानकारी दिँदै भने, “यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।”