अन्य कम्पनीमा कायम हुँदाहुँदैका पाइलटलाई मदन खरेललाई कानुन मिचेर नियुक्त गरे

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ। निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको हो।

निगमका अनुसार नेपालीसँगै केबी लिम्बुलाई पनि नियुक्त गरिएको छ। ‘दुवै पाइलट एक महिनाअघि नियुक्त गरिएको हो,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने। निगममा नियुक्ति पाएका व्यक्ति अहिले मकालु र सीता एअरमा काम गरिरहेका छन्।शुक्रबार मकालु एअरका महाप्रबन्धक बालकृष्ण श्रेष्ठले नेपाली उक्त कम्पनीको अध्यक्ष रहेको बताए। उनका अनुसार नेपाली मकालुका संस्थापक अध्यक्ष हुन्।

नेपालीले पनि आफू संस्थापक अध्यक्ष रहेको स्वीकारेका छन्। सीता एअरको प्रशिक्षक पाइलट पनि हो रु भनेर सोध्दा नेपालीले ‘व्यक्तिगत कुरा नसोध्न’ भन्दै फोन काटे। सीता एअरका सिनियर जनरल म्यानेजर घनश्याम आचार्यले नेपाली सीतामा प्रशिक्षक पाइलट रहेको स्पष्ट पारे। ‘सन् २००६ देखि नेपाली सीता एअरमा प्रशिक्षक पाइलटको रुपमा कार्यरत हुनुहुन्छ,’ उनले भने, ‘आवश्यक पर्दा जहाज उडाउने, तालिम दिने, कक्षा लिने लगायत काम गर्नुहुन्छ।’

त्यसो त नेपाली सीता एअरका संस्थापक पनि हुन्। केही वर्षअघि सीताबाट छुटेर मकालु एअरको स्थापना गरेका थिए। हाल कम्पनीको सेयर उनको नाममा नभए पनि उनी कम्पनी अध्यक्ष छन्। मकालु एअरको एक डकुमेन्टमा कार्यकारी अध्यक्ष भनेर उनको नाम उल्लेख छ।

शुक्रबार मकालु एअरका महाप्रबन्धक बालकृष्ण श्रेष्ठ, कर्पोरेट सेफ्टी प्रबन्धक महेन्द्रसिंह रावलसँग र नेपाली स्वयंसँग फोनमा बुझ्दा सबैले नेपाली मकालुको अध्यक्ष रहेको बताए। निगमको कर्मचारी नियमावली अनुसार नेपालीले यसरी काम गर्न पाउँदैनन्। कर्मचारी नियमावलीको ७८ नम्बर बुँदामा निगममा कार्यरत कर्मचारीले कुनै वायुसेवा कम्पनी वा ट्राभल एजेन्सी वा हवाई टिकेटिङ एजेन्सी वा हवाई सेवासँग सम्बन्धित कुनै पनि कम्पनीको काममा संलग्न हुन नपाउने र अन्य व्यापारिक कारोबार गर्न नपाउने उल्लेख छ।
नेपाली अन्य कम्पनीमा संलग्न रहेको थाहा पाउँदापाउँदै कार्यकारी अध्यक्ष मदन खरेलले नियुक्त गरेको निगम सञ्चालक समितिकै सदस्यले बताए। खरेलले सञ्चालक समितिमा जानकारी नगराई नेपाली र लिम्बुलाई नियुक्त गरेका हुन्। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार अध्यक्षबाट स्वीकृत हुने भएकाले बोर्डमा लैजानु पर्दैन।

तर, सञ्चालक समितिका एक सदस्यका अनुसार विज्ञ नियुक्ति गर्दा कार्यकारी अध्यक्षले सोझै गर्न सके पनि पाइलट नियुक्ति गर्न सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्छ। नेपाली र लिम्बुलाई विज्ञ नभएर पाइलटकै रुपमा नियुक्त गरिएको खरेलले यसअघि बताइसकेका छन्। उनीहरु दुवैलाई मासिक ६–६ लाख रुपैयाँ तलब दिने गरी नियुक्त गरिएको हो।

शुक्रबारको सञ्चालक समिति बैठकमा पनि सदस्यहरुले बोर्डलाई जानकारीबिनै पाइलट नियुक्त गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। खरेलले भने प्रशिक्षक पाइलट बनाउन नियुक्त गरेको बताएको बैठकका एकजना सहभागीले बताए। स्रोतका अनुसार खरेल फिजुनाथलाई प्रशिक्षक पाइलट बनाएर वाई१२ई जहाज नै मकालु एअरलाई भाडामा दिने गोप्य तयारीमा छन्।

यसअघि मन्त्रालयका सचिव सञ्चालक समिति अध्यक्ष रहेकोमा अहिले खरेल कार्यकारी अध्यक्ष छन्। उनले कार्यकारी अध्यक्ष भएको मौका पारेर धमाधम आफूनिकट व्यक्तिलाई नियुक्त गर्ने, ठेक्का दिलाउने लगायत काम गरिरहेको स्रोतको दाबी छ।

गत सोमबार मात्रै खरेलले बोर्डको स्वीकृतिबिनै कानुन मिचेर एजे वाटर कम्पनीलाई जहाजको मर्मत तथा इन्जिन खरिद गर्ने ठेक्का दिँदा निगमलाई एक अर्ब ५३ करोड नोक्सान हुने देखिएको निष्कर्ष निकाल्दै सम्झौता नगर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। पाइलट नियुक्तिमा पनि खरेलले मनोमानी गरेको निगम स्रोतको भनाइ छ। खरेलले निगममा रहेका जहाज कहिले उड्ने भनेर टुंगो नलाग्दै र भएकै पाइलटले पनि जहाज उडाउन नपाएर थन्केको बेला नयाँ पाइलट नियुक्त गरेका हुन्।

निगममा चार थान ‘वाई१२–ई’ जहाज छन्। निगमको कमजोर व्यवस्थापनका कारण सबै जहाज र पाइलट पुस १६ गतेदेखि ग्राउन्डेड छन्। निगमले ‘वाई१२–ई’ जहाजमा कार्यरत पाइलटको पाइलट प्रोफिसियन्सी चेक ९पिपिसी० तालिम नगराउँदा पाइलट थन्केर बसेसँगै जहाज ग्राउन्डेड भएका हुन्। उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सञ्जय बादे श्रेष्ठ र आङनुरी शेर्पा गरेर चार पाइलटमध्ये घिमिरेलाई एअर बस उडाउने तालिमको लागि पठाइयो। श्रेष्ठ र भट्टाराई बिरामी बिदामा बसे। शेर्पाले पिपिसीको म्याद आठ महिना नपुग्दा पुस १६ गतेसम्म जहाज उडाए। त्यसपछि ग्राउन्डेड भएका चारै जहाजमध्ये ४४ दिनपछि एउटा जहाज बिरामी बिदाबाट फर्केका पाइलट नृपेन्द्र भट्टराईले उडाउन थालेका छन्। भट्टराई ‘वाई१२–ई’को पिपिसी हुने एक्ला पाइलट हुन्। श्रेष्ठ पनि बिरामी बिदाबाट फर्किसकेका छन्। उनको पनि पिपिसी छैन।

शेर्पा निगमका प्रशिक्षक पाइलट हुन्। शेर्पाले पिपिसीको तालिम लिएपछि नयाँ नियुक्त भएका र पुराना पाइलटलाई तालिम दिन मिल्छ। तर, निगमले शेर्पालाई तालिम गराउन सकेको छैन। तालिम एक दिनको हुन्छ। चीनमा हुने तालिम वर्षमा दुईपटक लिनुपर्छ। प्रशिक्षक पाइलट शेर्पाको पिपिसी तालिम लिएको नोभेम्बर ३० मै ६ महिना पुगेको थियो। निगमको कमजोर व्यवस्थापनकै कारणले चार महिनापछि मात्रै तालिमको लागि उनलाई फागुन ११ ९फेब्रुअरी २३० मा पठायो।
‘निगमले पाइलट शेर्पालाई पिपिसीको तालिम लिनको लागि दुई हप्ताअघि चीन पठाएको थियो,’ निगम सहप्रवक्ता कोइरालाले भने, ‘प्राविधिक कारणले गर्दा तालिम भएन।’ अब

फेरि तालिम कहिले हुन्छ, त्यसको टुंगो छैन। ‘शेर्पालाई तालिम लिनको लागि सक्दो चाँडो पठाउँछौं,’ कोइरालाले भने, ‘त्यसको लागि तालिम प्रदान गर्ने चीनको उक्त कम्पनीसँग कुरा भइरहेको छ।’

शेर्पाले पिपिसी तालिम लिएर आएपछि पिपिसी नभएका श्रेष्ठ र नवनियुक्त पाइलट लिम्बु, नेपालीलाई तालिम दिनेछन्। त्यसपछि ‘वाई१२–ई’ चारै थान जहाज नियमित उडाइने छ। उनका अनुसार चारमध्ये एउटा जहाज बिग्रिएर मर्मतको क्रममा छ। त्यो जहाज पनि मार्च महिनाभित्र बनिसकेर नियमित सञ्चालनमा आउँछ। त्यसपछि ‘वाई१२–ई’ चारै थान जहाज दुर्गम क्षेत्रमा नियमित उडाएर सेवा दिने दाबी निगमको छ। तर, त्यो कहिलेसम्म भन्ने निगमसँग जवाफ छैन।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement