भारतमा चौथो चरणको मतदान सुरु

Advertisement

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि सोमबार चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि मतदान भइरहेको छ । चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले नौ सय ४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव हुँदैछ ।उडिसामा ४२ स्थानको विधान सभाका लागि पनि मतदान हुँदैछ ।

यस चुनावमा बिहारको बेगुसराय निर्वाचन क्षेत्र निकै चर्चामा छ । यहाँ भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट युवा नेता एवं प्रखर वक्ता कन्हैया कुमार र भारतीय केन्द्रीय मन्त्री गिरिराज सिंह तथा आरजेडीका तनवीर हस्सनबीच प्रतिस्पर्धा हुँदैछ । सुप्रसिद्ध बलिउड कलाकारहरु जाभेद अख्तर, शबाना आज्मी, स्वारा भास्कर र प्रकाश राजसमेत कन्हैयाका पक्षमा चुनावी प्रचारमा बेगुसरायमा छन् ।

जम्मु काश्मिरको अनन्तनाग लोकसभाका लागि चुनाव जारी छ । यहाँ ४३३ वटा मतदान केन्द्र राखिएका र करिब ती लाख ४४ हजारले मतदान गर्ने विश्वास गरिएको छ । मतदानका क्रममा सामान्य हिंसाका घटना भएको सञ्चार माध्यमहरुले जनाएका छन् । तर समग्रमा चुनाव शान्तिपूर्ण रुपमा भइरहेको प्रहरी प्रशासनले जनाएको छ ।

यसअघि अप्रिल २३ मा भएको तेस्रो चरणको चुनावमा १४ राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ११६ स्थानका लागि मतदान भएको थियो । तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका थिए ।

यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो ।

यसैगरी, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९।४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

Advertisement

Advertisement

Advertisement