नुवाकोटले एक बर्ष भित्रमा अतिक्रमणकारीलाई हटाएर सार्वजनिक जग्गाहरु फर्काउने

Advertisement

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्रका अतिक्रमण गरिएका सार्वजनिक जग्गा एक वर्षभित्र हटाई जग्गाको संरक्षण गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा भएको सरकारी स्वामित्वमा रहेका सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सर्वपक्षीय बैठकले नगरपालिका र गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षरण र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । बैठकले जिल्लामा गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको पहिचान गरी विवरण सङ्कलन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई सक्रिय बनाई काम गर्ने निर्णय गरिएको प्रजिअ थापाले बताए ।

समितिलाई सूचना उपलब्ध गराउन प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा कार्यादल गठन गरी वडागत विवरण संकलन गर्ने तथा कामको प्रगतिबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई जानकारी गराउनुपर्ने निर्णय गरिएको छ । बैठकमा डिभिजन वन कार्यालय, सडक डिभिजन तथा सडक आयोजनामा विद्युत् आयोजना, विद्यालयको जग्गा अतिक्रमण भएको भए हटाउन पहल गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए । जिल्ला मालपोत कार्यालयका प्रमुख बुद्धीलाल श्रेष्ठले २०६४ को तथ्याङ्क अनुसार जिल्लामा ४ लाख ७४ हजार ४ सय रोपनी सरकारी जग्गा रहेको बताए ।

Advertisement

Advertisement

Advertisement