५६ लाख ६० हजार २१४ घरधुरीमा बन्यो शौचालय, असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै

Advertisement

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । आगामी असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भईसकेको बताइएको हो । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पुरा भएको बताइन ।

मन्त्री मगरले आउँदो असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने जानकारी दिइन । ‘ नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ ।’ मन्त्री मगरले कार्यक्रममा भनिन, ‘सुन्दा अचम्म लागेपनि यसको महत्व के हो भनेर बुझ्नु जरुरी छ । नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि हामी पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुनेछौं ।’

मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराइन । उनले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गरिन ।

पत्रकार सम्मेलनमा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । ‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं ।’ सहसचिव रितेशकुमार शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ ।

कति बने शौचालय ?
२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन ग¥यो । नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको भनाई छ ।

समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश नं। ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

Advertisement

Advertisement

Advertisement