के हो ‘किसान क्रेडिट कार्ड’, कसरी जारी हुन्छ ‘कृषि बण्ड’ ?

आर्थिक वर्ष २०७७/७८ को बजेट तथा मौद्रिक नीतिले ‘किसान क्रेडिट कार्ड’ मार्फत किसानहरुलाई भुक्तानीमा सहजता र तथ्यांक प्रणालीमा एकिकृत गर्ने भनेको छ । कृषि विकास बैंकले हालसम्म किसानहरुलाई सहजता दिने गरि काम गर्दै आईरहेको थियो । बैंकले किसानको कर्जा र अनुदानको सम्बन्ध, भुक्तानी प्रणालीमा मल, बिउविजन र उपकरण खरिदका लागि निश्चित रकमसम्म सोही कार्डबाट भुक्तानी गर्न मिल्ने व्यवस्था सहितको किसान क्रेडिट कार्ड ल्याउँदैछ । त्यसका लागि केहि मर्चेन्टहरु तयार पारिनेछन्, तिनले एजेन्टका रुपमा भुक्तानी लिनेछन् र त्यस्तो भुक्तानी किसानले घरबाटै गर्न सक्नेछन् । कार्डमा किसानले आफ्ना उत्पादन बेच्ने, खरिद गर्नेहरुको सम्बन्ध पनि जोडिएको हुनेछ । त्यसमा एपको माध्यमबाट किसानलाई आवश्यक सूचना तथा जानकारी पनि समेटिनेछ । यो कार्ड निर्माणको आन्तरिक प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । केहि समयभित्रै कार्यान्वयनमा ल्याउनेछौं ।के हुन्छ कार्डमा ?  एउटा किसानको आवश्यकता कहाँबाट परिपुर्ति हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर कार्ड तयार पारिएको छ । किसानका लागि मल बिउ, उपकरण किन्ने, आफ्ना उत्पादन बेच्ने, कामदारलाई भुक्तानी दिने, कृषि सम्बन्धी जानकारी लिने लगायतका आधारभूत काम दैनन्दिन आईपर्छन् । यी विषयहरु कार्डमा समावेश गरिनेछन् । कर्जा लिएका ग्राहकहरुका लागि भुक्तानीको सिमा तोकिएको हुन्छ । त्यस्तो खाता पनि कार्डसँग जोडिनेछ ।बिक्रेताहरु कहाँ पनि खातामा रकम जम्मा भएको सूचना पुग्नेछ । कुनै किसानलाई तत्कालै रकम चाहिएमा नजिकैको बैंक वा एटिएमबाट सोही कार्डका आधारमा नगद भुक्तानीको सुबिधा हुनेछ । यो एटिएम जस्तो होइन, एटिएम भन्ने वित्तिकै भिसा र मास्टर कार्डको कुरा आउँछ । त्यसको लागत र अन्तराष्ट्रिय आवद्धताको कुरा पनि आउँछ । किसान क्रेडिट भनेको किसानहरुका लागि हामी आफैंले तयार पार्ने छुट्टै कार्ड हो । किसानको नाम, ठेगाना लगायतका विवरण समेटिएको स्वाप प्रणालीबाट भुक्तानी हुने कार्ड नै हो ।मर्चेन्टको तयारी बैंकका शाखाहरुलाई प्रयोग गरेर मर्चेन्टहरु खडा गर्छाै । किसानसँग जोडिने मल, विउ, उपकरण खरिद गर्ने तथा उत्पादन बेच्ने ठाउँहरुलाई मर्चेन्टका रुपमा खडा गर्छाै ।कार्डमा पैसा कसरी राख्ने ? कार्डमा किसानहरुले आफ्नो कमाई राख्न सक्छन्, ऋण लिएको पैसा राख्न सक्छन् । धितो राखेर लिएको ऋण पनि कार्डमा राख्न सकिन्छ ।कसले पाउँछन् क्रेडिट कार्ड ? कस्ता-कस्ता किसानहरुलाई यसमा समावेश गर्ने भन्ने अहिले अध्ययन भैरहेको छ । कृषि मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर कस्ता किसानलाई कार्ड दिने भन्ने विषय टुंगो लगाउँछौं । कृषि विकास बैंकको विशेषज्ञता नै कृषिमा भएकाले पनि किसान छनौट गर्न खासै कठिन हुन्न । यो कार्ड बोक्ने किसानहरुलाई अतिरिक्त आर्थिक भार पार्दैनौं । पाँच प्रतिशतको सहुलियतपूर्ण कर्जा, ठुला कर्जा, साना कर्जा सबैलाई समावेश गर्छाै । सेवा शुल्क पनि राष्ट्र बैंकले तोके बमोजिम मात्रै हुनेछ ।कसरी लिने किसान क्रेडिट कार्ड ? त्यसका लागि हामी एउटा गाइड लाइन नै तयार गरिहेका छौं । किसानले बैंकमा खाता खोल्दा वा ऋणका लागि आवेदन दिँदा नै क्रेडिट कार्डका लागि पनि आवेदन दिनुपर्छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको सुबिधा लिएको जसरी नै क्रेडिट कार्ड पनि लिन सकिन्छ ।जनताको बैंक र प्रतिफल कृषि विकास बैंकको निक्षेपमा ८५ प्रतिशत हिस्सा साना निक्षेपकर्ताहरुको छ । साना भन्ने वित्तिकै ग्रामिण परिवेशका आम नागरिक पर्छन् । कर्जाको कुरा गर्ने हो भने ८८ प्रतिशत कर्जा हाम्रो १५ लाख भन्दा साना छन् । अर्थात यो आम नागरिक, ग्रामिण किसान, घरेलु तथा उद्यमी, मजदुरहरुको अत्यधिक सहभागीता रहेको बैंक हो । कोभिड १९ को संक्रमण अघिसम्म हाम्रो प्रतिफल राम्रो थियो । गत आर्थिक वर्षमा ३० प्रतिशत लाभांश दिएका थियौं ।बैंकमा सरकारको बहुमत स्वामित्व छ । अन्य लगानीकर्तालाई पनि लाभांश दिनुपर्छ । तर, कोभिडकै बीचमा पनि हामीले राम्रो प्रतिफल दिन सक्नेछौं । हामीले कृषिको पनि उद्यमशिल क्षेत्रमा कर्जा लगानी गर्ने हो, जसले बैंकलाई व्यवसायीक रुपमा राम्रो गर्छ । मौद्रिक नीतिले नगद र बोनस सेयर वितरण गर्ने सिमा तोकि दिएको छ । वितरण योग्य नाफा कति हुन्छ भन्ने कुरा वित्तिय विवरणले मात्रै बताउँछ । यद्यपी हामी कोभिडको महामारीका बीचमा पनि हामी राम्रो प्रतिफल दिन सफल हुनेछौं । बैंक, निक्षेप कर्ता, ऋणी र राज्य प्रणाली पनि सफल हुने गरि प्रतिफल दिनेछौं ।कसरी जारी हुन्छ ‘कृषि बण्ड’ ? मौद्रिक नीतिले कृषि विकास बैंकलाई चुनौति भित्र अवसर दिएको छ भन्ने हाम्रो निष्कर्ष हो । कृषिमा अपेक्षाकृत लगानी वृद्धि नभैरहेको अवस्थामा कृषि बण्डको व्यवस्था आएको छ । यसले कृषि विकास बैंकलाई श्रोत र अन्य बैंकलाई कृषिमा लगानी कम गरे वापत जरिवाना तिर्नु नपर्ने सुबिधा दिएको छ । यसलाई हामीले चुनौती भित्रको अवसरका रुपमा लिएका छौं । अब हामी कृषिमा लगानी गर्ने मास्टर प्लान बनाउँछौं । हिजो श्रोतको चुनौतीसँग व्यवसाय थियो । अहिले श्रोतको व्यवस्थापनसँग व्यवसाय हुन्छ ।अब हामी बण्ड जारी गर्छाै, अरु बैंकले खरिद गर्छन् । यस्तो अभ्यास विदेशमा पनि छ । उर्जामा पनि यस्तै नीति ल्याउने भन्ने छ । सबै बैंकले कृषिमा राम्रोसँग काम गर्ने वातावरण नहुन सक्छ । त्यसकारण हामीलाई जिम्मेवारी दिईएको हो । अरु बैंक हाम्रो बण्ड किनेर जरिवानाबाट जोगिनेछन् । कृषिलाई यसरी प्राथमिकतामा राख्दा हामी अरु बिजनेशलाई पनि उतिकै महत्वका साथ अघि बढाउँछौं । कृषि विकास बैंकसँग कृषिको विशेषज्ञता छ, जनशक्ति छ, तालिम केन्द्र अनुभव पनि छ । त्यसकारण यो जिम्मेवारी हामीलाई दिईएको हो । यस बिषयमा राष्ट्र बैंकसँग व्यापक छलफल गरिएको थियो । हामी कामलाई बोझका रुपमा लिँदैनौं, चुनौती र अवसरका रुपमा लिएर सफल हुनेछौं ।उद्यमशीलताको बाटोमा कोहि व्यक्ति उद्यमशील बन्ने बाटोमा हुनुहुन्छ भने कर्जा माग्नु अघि केहि ज्ञान हासिल गर्नुस् । ऋण लिने क्रममा कुन क्षेत्रमा ज्ञान छ, त्यसलाई अघि सार्नुपर्छ । त्यसो गरियो भने हामीलाई ऋण दिन पनि सहज हुन्छ र ऋणीलाई कम जोखिम र उपलब्धि पनि हासिल हुनसक्छ । अब निर्वाहमुखी होइन व्यवसायीक कृषिका लागि काम गर्ने बेला भैसकेको छ । गाउँ गाउँमा कृषि क्रान्तिका पक्षमा माहोल बनाउनु पर्नेछ ।

(कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँग गरिएको कुराकानीमा आधारित)