काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९)का कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्दार गर्न सुरु गरिएको उद्दार हवाई उडान बन्द गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।
विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्न सिफारिस गरिएको हो । केन्द्रले अहिलेसम्म एक लाख ३६ हजार २१६ जनाको उद्दार गरिएको जानकारी दिँदै अब उद्दार गर्नुपर्ने जरुरी नरहेको तर्क गरेको छ ।
विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुले उद्दार गर्नुपर्ने अवस्था लगभग सकिएको जानकारी दिएकाले यस्तो निर्णय गरिएको जनाइएको छ । यदि उद्दार नै गर्नुपर्ने भए पनि नियमित उडानबाटै ल्याउन सकिने केन्द्रको ठहर छ ।
त्यस्तै, केन्द्रले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै भए स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने, सीमानाका हुँदै नेपाल भित्रिने प्रवेश विन्दुमा बैतडीको झुलाघाट नाका पनि थप गर्ने, केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न सरकारलाई सिफारिस गर्ने, कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न सिफरिस गरेको छ ।