काठमाडौं । सुरुङभित्रको चार तले ठूलो घर बराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गिएर, भल्बजस्ता ठूल्ठूला उपकरण र मेसिन जडान भइसकेका छन् । विद्युत् गृह सञ्चालनमा आएपछि तिनको सबैखाले जानकारी लिएर नियमन गर्न माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ समेत तयार भइसकेका छन् ।
अब मेसिन तथा उपकरण जडान गर्न केही पनि बाँकी छैन । तामाकोसी नदी नै थुनेर ल्याइने पानी बग्ने ठूल्ठूला पाइप विद्युत् गृहभित्र जोडेर तयार पारिएको छ । त्यही पाइप हुँदै विद्युत् गृह प्रवेश गर्ने पानीले घुमाएर ऊर्जा उत्पादन गर्ने ६ वटै टर्बाइन घुम्न तयारी हालतमा छन् ।
बाँधस्थलबाट सुरुङ र पेनस्टक पाइपमार्फत खसालिएको तामाकोसी नदीको पानीको फोहोराले यी ‘टर्बाइन’ घुमाएपछि त्यसबाट निकालिएको ऊर्जाले नै मुलुकलाई बिजुली दिन्छ ।
तर यी टर्बाइन कहिले घुम्छन् ? अनिश्चित छ । बाँधस्थलबाट सुरुङमार्ग हुँदै ठूल्ठूला पेनस्टक पाइपमार्फत पानी खसाल्ने पेनस्टक पाइप जडान गर्ने जिम्मा पाएको भारतीय ठेकेदारको लापरबाही तगारो बनिदिँदा पाँच वर्षमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको योजना काम सुरु भएको ११औं वर्षमा टेक्न लाग्दा समेत सकिएको छैन । स्वदेशी लगानीको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएका कारण आयोजनाका अधिकारीहरूलाई दबाब उस्तै छ । तर ठेकेदारले काम नगरिदिँदा आयोजना अझै अनिश्चित हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ ।