वायुसेवा निगमले दुई वटा कोषलाई तिर्यो एक अर्ब ३५ करोड ऋण

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको जनाएकी छन् । त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको प्रवक्ता खड्काले जानकारी दिइन् ।

Advertisement

विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको प्रवक्ता खड्काले प्रेस विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

त्यस्तै, पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको खड्काले प्रेस विज्ञप्तीमा लेखेकी छन् ।

Advertisement

Advertisement