स्टार इण्डियाको दादागिरि र गैरव्यवसायिक कार्यप्रति डिस्नीले उचित कदम चाल्नुपर्छः डिश मिडिया

Advertisement

काठमाडौं । नेपालको ‘पे टिभी’ उद्योग संकटमा रहेको बेला भारतीय टेलिभिजन टेलिभिजन कम्पनी स्टार ग्रुपअन्तर्गतको स्टार इण्डिया प्राइभेट लिमिटेडले एक पक्षीयरुपमा टेलिभिजन सिग्नल बन्द गरेकोप्रति डिश मिडिया नेटवर्कले अमेरिकाको डिस्नी स्टारको ध्यानाकर्षण गराएको छ । 

डिशहोम ब्राण्डमा नेपालका लाखौं ग्राहकलाई टेलिभिजन सेवा प्रदान गर्दै आएको डिश मिडिया नेटवर्कले आफूले नियमितरुपमा रकम भुक्तानी गरिरहेको बेला लाखौं उपभोक्ताको अधिकार कुण्ठित हुनेगरी बिना सुचना स्टार इण्डियाले च्यानल बन्द गर्नु गैरव्यवसायिक शैली भएको बताउँदै यस विषयमा डिस्नी स्टारले स्टार इण्डियाको दादागिरि रोकी उसलाई आवश्यक कारवाही गर्नुपर्ने बताएको छ । 

Advertisement

डिश मिडियाका बजार प्रमुख सञ्जय राजभण्डारीले भने, ‘आजको दिनमा ‘पे टिभी’ इन्डष्ट्रिज संकट परेको बेला छ । ग्राहक घटेको बेला छ । आर्थिक मन्दी भइरहेको बेला स्टार इण्डियाले यति पूरानो सम्वन्ध तोड्दै बारम्बार बार्गेनिङ गर्नु र रकम भुक्तानी गर्दागर्दा एकपक्षीय रुपमा टेलिभिजनको सिग्नल काट्नु गैरव्यवसायिक शैली हो । यस कुरामा डिस्नी स्टारले पनि वास्तविकता बुझ्नुपर्छ र उसबाट भएको गैरव्यवसायिक गतिविधिमाथि छानविन र कारवाही गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । लाखौं उपभोक्ताको मनोरञ्जन र सुचनाको हक कुण्ठित गरिएको यस घटनामा नेपालको सम्वन्धित सरकारी पक्ष र पे टिभी उद्योगले एक्यवद्धता जनाउँदै यस्ता गलत कार्य रोक्न भूमिका खेल्नुपर्छ भन्ने हाम्रो भनाई हो । यो हाम्रो एउटा संस्थाको समस्या मात्रै नभएर लाखौं जनताको चासोसँग जोडिएको विषय हो ।’

उनले स्टार इण्डियाले आफूहरुसँग ब्ल्याकमेलिङ गरेको आफ्ना ३२ वटै च्यानल लिनुपर्छ भनेर अनावश्यक दबाब दिएको बताउँदै पछिल्लो पटक पनि पैसा पठाएपछि अब कसरी जाने भनेर कुराकानी भइरहेको बेला उसले नियोजितरुपमा लाइन काट्ने काम गरेको बताए । स्टार इण्डियाले नेपालमा नयाँ कम्पनीलाई डिष्ट्रिब्युटर बनाएपछि एकाएक डिश मिडियासँग सम्वन्ध बिगार्न रणनीतिकरुपमा लागेको राजभण्डारीले घटनाक्रम सुनाए । 

उनले थपे, ‘नेपालमा अहिले विभिन्न खेलकुद प्रतियोगिताहरु भइरहेको छ । खेलकुदका पारखीहरु बढिरहेका छन् । ती खेलहरु स्टारका च्यानलहरुबाट प्रसारण भइरहेको बेला यसरी लाइन काटिदिनु भनेको नेपालको समग्र ‘पे टिभी’ उद्योगलाई नै च्यालेन्ज गरेको हो । नगनेको हो । धम्की दिएको हिसावमा हामीले हेरेका छौं । यो सरासर ब्ल्याकमेल गरेको जस्तै हो ।’

व्यवसायिक संस्थाले लाखौं उपभोक्ताको सुचनाको हक नै कुण्ठित गर्नेगरी काम गर्दा नेपालका सम्वन्धित् निकाय र उद्योग गम्भीर हुनुपर्छ भन्ने डिश मिडियाको भनाई हो भन्दै राजभण्डारीले यस प्रकरणलाई डिस्नी स्टारले गम्भीररुपमा हेर्नुपर्ने बताए । उनले यस विषयमा डिस्नीको पनि आफूहरुले ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘गल्ती गर्नेलाई दण्डित गर्नुपर्छ । यस घटनाले हामीलाई गम्भीर र निराश बनाएको छ । र, सम्वन्धित पक्ष सबैले यस कुरामा आवाज उठाउनुपर्छ भन्ने हो ।

Advertisement