मुरारका समूह र इण्डियाको सेरामिक कम्पनीबीच टायल उद्योग स्थापनाका लागि सम्झौता

Advertisement

काठमाडौं । मुरारका समूह र इण्डियाको  सोमानी सेरामिक्स कम्पनीबीच नेपालमा टायल उद्योग स्थापनाका लागि सोमबार सम्झौता भएको छ । दुई अर्ब रुपियाँ लगानी रहने यो उद्योगको कारखाना भैरहवामा रहने छ । 

मुरारका समूहका प्रवन्ध निर्देशक पशुपति मुरारकाले एक बर्षभित्र यो उद्योग स्थापना भई सञ्चालनमा आउने कर्पोरेट नेपाललाई जानकारी दिए । उनले भैरहवामा १३ बिघा क्षेत्रफलमा निर्माण हुने टायल उद्योगले पहिलो चरणमा ३० लाख वर्गमिटर टायल उत्पादन गर्ने बताए । 

Advertisement

त्यसको केही समयपछि दोस्रो चरणमा अर्को ३० लाख वर्गमिटर टायल उत्पादन क्षमता थप्ने योजना रहेको यो उद्योग नेपालको सेरामिकको मागको ३३ प्रतिशत यस उद्योगले पूरा गर्ने योजना रहेको मुरारकाको भनाई छ । 

नेपालमा सेरामिकको माग एक करोड ८० लाख वर्गमिटर छ । अहिले नेपालमा ९५ प्रतिशत टायल आयात हुँदै आएको छ । सम्झौता कार्यक्रममा मुरारकाले मुलुक आर्थिक संकटको स्थिति र व्यवसायिक क्षेत्रमा निराशा रहेको बेला यस लगानीले केही उत्साह जगाउने बताए । 

अर्घाखाँची सिमेन्ट, पशुपति पेन्ट्स लगायतका उद्योगमा लगानी गरेको मुरारका समूहले टायल उद्योगमा लगानी गर्न लागेको हो । सो समूहले टायल उद्योगका लागि सकेसम्म स्वदेशी कच्चा पदार्थ नै गर्ने बताउँदै पछि सोमानीले उत्पादन गर्ने अन्य उत्पादन पनि नेपालमा सुरु गर्ने लक्ष्य लिएको छ । 

सोमानीले इण्डियाका विभिन्न प्रान्तमा उद्योग सञ्चालन गर्दै युरोप, अफ्रिका, मध्यपूर्व, अमेरिका, दक्षिण अमेरिकासम्म आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । 

Advertisement

Advertisement