जीडीपीमा बीमा क्षेत्रको योगदान एक प्रतिशतले वृद्धि हुने अनुमान, यो उत्साहजनक होः पौडेल

Advertisement

काठमाडौं । बीमा क्षेत्रले कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा पुर्याएको योगदान एक प्रतिशतले मात्रै वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको आधारमा नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको योगदान अपेक्षाकृत कम वृद्धि भएको बताएको हो । 

तथ्यांक विभागले वित्तीय तथा बीमा क्षेत्र शीर्षकमा यस आथिएक बर्षमा जीडीपीमा योगदान सात दशमलव ३७ प्रतिशत पुग्ने प्रक्षेपण  गरेको छ । यस शीर्षकमा बीमा क्षेत्र मात्रै नभएर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषलगायतको योगदान समेत जोडिन्छ । यसमध्ये बीमा क्षेत्रको योगदान यसअघि तीन प्रतिशत रहेकोमा अहिले बढेर चार प्रतिशत पुगेको हुनसक्ने प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए । 

Advertisement

उनले भने, ‘यस पटक बीमा क्षेत्रले दिने योगदान अझै बढ्छ । पहिलेको तुलनामा एक प्रतिशतले बढ्ने हाम्रो तथ्यांकशास्त्रीले तयार गरेको तथ्यांकले पनि देखाउँछ । यसबाट बीमाको पुहँच बढिरहेको बेलामा जीडीपीको योगदान पनि बढ्न पुगेको देखिन्छ ।’ पौडेलले यो वृद्धि उत्साहजनक रहेको बताउँदै यसरी यसअघि वृद्धि नभएको बताए ।  

उनले विगत पाँच वर्षदेखि एकै हाराहारीमा जीडीपीमा बीमा क्षेत्रको योगदान सामान्यरुपमा बढे पनि यस पटक भने केही फरक वृद्धि देखिएको भन्दै झण्डै एक प्रतिशतको वृद्धि हुँदा ठूलो उपलब्धी मान्न सकिने बताए । 

अर्थमन्त्रालयकै तथ्यांक अनुसार पनि बीमा क्षेत्रले जीडीपीमा पुर्याउने योगदान बढ्दो क्रममा रहेको देखिएको छ । यता बीमा कम्पनीहरुले भने बीमा क्षेत्रमा आर्थिक मन्दीको प्रत्यक्ष असर देखिएको भन्दै बीमा व्यवसाय घट्न थालेको बताएका छन् । बीमा कम्पनीहरुले आफ्नो दोस्रो त्रैमाससम्म आर्थिक मन्दीको असर नदेखिए पनि तेस्रो त्रैमासबाट आफूहरु त्यसको शिकार बन्नुपरेको गुनासो गरेका छन् । 

यता बीमाको पुहँच पनि विगतको तुलनामा निकै ठूलो संख्याले बढेको प्राधिकरणको तथ्यांकमा पनि देखिन्छ । पौडेलले पनि सो कुराको दावी गरे । प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्तिममा बीमाको पहुँच जम्मा ३३  प्रतिशत जनतामा पुगेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४४ प्रतिशतमा पुगेको छ । 

Advertisement

Advertisement