खाताको पैसा कसरी सुरक्षित हुन्छ ? बैंकहरु भन्छन्-‘ग्राहकहरु पनि सचेत रहनू’

Advertisement

काठमाडौं । बैंकमा राखिएको पैसा गायब भएका समाचारहरु सार्वजनिक भएसँगै ग्राहकहरु आतंकित हुन थालेका छन् । 

हालै एभरेष्ट बैंकको इटहरी शाखा र माछापुच्छ्रे बैंकको रौतहट स्थित चन्द्रपुर शाखाबाट ग्राहकहरुको पैसा गायब भएका समाचार सार्वजनिक भएसँगै एक खालको आतंक सिर्जना भएको हो । 

Advertisement

एभरेष्ट बैंकका एक जिम्मेवार कर्मचारीले नै बचतकर्ताको १ करोड ५० लाख भन्दा बढी रकम हिनामिना गरेका हुन् भने माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपियाँ गायब भएको घटनाले बजार तातेको छ । यस घटनामा प्रहरीले अनुसन्धान बढाएसँगै बैंकहरुले पनि विज्ञप्ति प्रकाशित गरी सेवाग्राहीहरुलाई आतंकित नहुन अनुरोध गरेका छन् ।

यसैक्रममा माछापुच्छ्रे बैंकले आज विज्ञप्ति प्रकाशित गरी अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहककै मोबाइल बैंकिङ प्रयोग गरी विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको जनाएको छ

बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोवाइलमा गएको देखिएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीलाई अनुरोध गर्दै ग्राहकहरुको बैंक खातामा रहेको बचत पूर्णरुपमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । 

मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन बैंकले अनुरोध गरेको हो । 

त्यसैगरी एभरेष्ट बैंकले ग्राहकको खातामा रहेको उक्त रकम सोधभर्ना गरी राष्ट्र बैंकलाई जानकारी गराई हिनामिनामा संलग्न कर्मचारीलाई बैंककै जाहेरीमा चैत २२ गते प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

यी घटनाहरु सार्वजनिक भएसँगै नबिल लगायतका बैंकले विज्ञप्ति प्रकाशित गरी बैंकको नाम लिएर मोबाइलमा आएको ओटिपी वा अन्य जानकारी मागे त्यसतर्फ सतर्क रहन अनुरोध गरेको छ । बैंकले इमेल, फोनमार्फत तपाईँको पासवर्ड वा अन्य गोप्य राख्नु पर्ने जानकारी नसोध्ने भएकाले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउन अपील गरेको छ । 

एभरेष्टको पैसा चोरी प्रकरणः प्रहरीले सस्तो लोकप्रियता खोज्दा शाखाका सबै कर्मचारी बदनाम

यसैबीच गत जेठ २ गते नेपाल राष्ट्र बैंकले पनि वित्तीय सचेतना सम्बन्धी सूचना प्रकाशित गर्दै विद्युती कारोबार गर्न खोज्ने व्यक्ति सही हो÷होइन पहिचान गर्न स्वचालित रुपमा प्रदान गरिने वान टाइम पासवर्ड (ओटीपी) कसैलाई दिनु नहुने उल्लेख गरेको छ । विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर हुने गरेकाले सजग भई कारोबार गर्न राष्ट्र बैंकले सुझाएको हो । 

‘कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन्, तपाईँले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाईँको ओटीपी कुनै पनि कार्यका लागि आवश्यक पर्दैन’, राष्ट्र बैंकले वित्तीय चेतनाका लागि प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

विद्युतीय कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाले ‘ओटीपी’ कहिल्यै माग्दैनन्, ‘कसैलाई नदिनू !’   

 
   

Advertisement

Advertisement