मेलम्ची असफलता र ऋणलाई अनुदानमा बदल्ने कुरामा एडीबीको मौनता

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको दशकौंदेखिको आशा थियो । निकै ढिलो गरी र निकै धेरै लागत वृद्धि गरी आयोजना सम्पन्न भएको भनियो । तर काठमाडौंवासीले धित मर्नेगरी पानी खान नपाउँदै यो आयोजना असफल भएको छ । 

मेलम्ची खाजेपानी आयोजना असफल भएपछि यो आयोजनाको लागि ऋण लगानीसँगै डिजाइन र निर्माण गर्ने एशियाली विकास बैंक (एडीबी)माथि ठूलो नैतिक प्रश्न उठेको छ । यति ठूलो आयोजनाले विदेशी परामर्शदाताहरु ल्याएर, उनीहरुलाई ठूलो लगानी गरी अघि बढाएको आयोजना असफल भएसँगै उसको डिजाइनदेखि निर्माणमा नै गम्भीर प्रश्न उठेको छ । 

Advertisement

धेरै विज्ञहरुले एडीबीको डिजाइन र निर्माणमा नै त्रुटी भएकाले आयोजना असफल भएको भन्दै उसले यो आयोजनाका लागि दिएको सबै ऋण अनुदानमा बदल्नुको विकल्प नरहेको बताउँदै विदेशी दातृ निकाय हुँदैमा लाखौं जनतामाथिको आशा र भविश्यमाथि खेलवाड गर्नेहरुलाई छुट दिन नहुने बताउँदै आएका छन् । 

विज्ञहरुको प्रश्न उठेपछि कर्पोरेट नेपालले एडीबीको जनसम्पर्क प्रमुख विनिता खड्कालाई डेढ महिनाअघि नै प्रश्न उनले लिखितरुपमा प्रश्नहरु पठाउन आग्रह गर्दै सम्वन्धित व्यक्तिसँग छलफल गरी लिखित उत्तर पठाउने प्रतिवद्धता जनाइन् । 

प्रश्नमा मेलम्ची खानेपानी आयोजनाको असफलताको कारण के हो ? यसको जिम्मेवारी लिन एडीबी तयार छ कि छैन् ? आयोजनामा भएको त्रुटी सुधारका लागि के पहल भइरहेको छ ? यस आयोजनाका लागि दिएको ऋण अनुदानमा बदल्न अब एडीबी तयार छ कि छैन् ? जस्ता प्रश्न सोधिएका थिए । प्रतिउत्तरका लागि पटक पटक फोन सम्पर्क गर्दा खड्काले आफूहरुको नेपाल निर्देशकको कहिले कार्यव्यस्तता तथा कहिले स्वास्थ्यलाई कारण देखाउँदै पर्खाउने काम गर्दै आइन् । पछिल्लो समय भने उनले उत्तर दिनुको सट्टा फोन उठाउन बन्द गरिन् । जबकी एडीबी जस्तै विश्व बैंकले भने यस्ता मुद्दाहरु उठ्दा तत्कालै भेट्ने, यथार्थ जानकारी गराउने गर्दछ । 

मेलम्चीमा भएको आफ्नो अफलताका कारण एडीबीलाई अन्तर्राष्ट्रियस्तरमा नै ठूलो धक्का लाग्ने देखिएको छ । एडीबीसँगको सम्वन्ध नबिगार्न चाहेकाले सरकारले उठाउन ढिलाई गरे पनि बौद्धिक क्षेत्र र जनस्तरमा यो विषय बढ्दै गएको छ । 

लामो समयदेखि मेलम्ची खानेपानी आयोजनालाई नजिकबाट नियाल्दै आएका विपद् न्यूनीकरण विज्ञ डा. वसन्तराज अधिकारी, डा. मुकेश काफ्लेलगायतले आयोजनाको विशेषगरी बाँध निर्माणका क्रममा ऋण लगानी गर्ने दातृ निकाय एडीबीबाट कमजोरी भएको बताउँदै आएका छन् । 

मेलम्ची जस्ता राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दा हुनसक्ने जोखिमको बारेमा एडीबीको अनुसन्धान कमजोर देखिएको बताउँदै उनीहरुले यो कमजोरीलाई उसले स्वीकार गर्नुपर्ने बताएका छन् । आयोजनाको अध्ययन प्रतिवेदन स्वीकृत गर्ने कुरामा तत्कालिन समयमा सरकारको सम्वन्धित निकायका अधिकारीहरुबाट पनि कमजोरी भएको अधिकारी र काफ्लेको भनाई छ । 

एडीबीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभव हासिल गरेका विज्ञहरु हुने भएकाले नेपालको जस्तो भौगोलिक अवस्था र वातावरण भएका मुलुकमा ठूला आयोजनाको अध्ययन गर्दा संभावित ठूला जोखिमहरु उसले औंल्याउनसक्ने सबैको विश्वास हुन्छ । तर नेपाललाई भने उसले हेप्दै मेलम्चीमा गम्भीर त्रुटी गरेको छ । 

मेलम्चीको बाँधस्थलभन्दा माथि निकै ठूलो मात्रामा गेग्रान (ढुंगा, बालुवा गिट्टी)को थ्रुप्रो रहेको, ठूलो बाढी पहिरो आउनसक्ने तथ्यलाई आंकलन नगरी एडीबीले नियुक्त गरेका परामर्शदार्ताबाट अपुरो अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको इन्टेक तयार गर्ने काम भएकाले दुई बर्षअघिको बर्खामा आएको बाढीले त्यसमा गम्भीर क्षति पुर्याएको छ । 

एडीबीको ३५ अर्बभन्दा बढी ऋण लगानी भएको यो आयोजनाको इन्टेकमा बाढीले क्षति नपुर्याओस भनेर विशेषगरी बर्खामा पानी आपूर्ति नै बन्द गर्ने काम हुँदै आएको छ । यद्यपि गएको बर्खामा समेत बाढीले क्षति पुर्याएपछि यो आयोजना असफल सावित भएको छ । अहिले निर्माण भएको बाँधस्थलबाट केही माथि अर्को बाँध निर्माण गरेर पानी आपूर्तिको विकल्प खोज्ने प्रयास भइरहेको छ । त्यसका लागि कम्तिमा चार बर्ष कुनुपर्ने अनुमान गरिएको छ । 

लामो समयदेखि काठमाडौंवासीलाई आयोजनाले पानी दिन सकेको छैन् । काठमाडौंमा विशेषगरी सुख्खायाममा पानीको चर्को समस्या हुने गर्छ । आयोजनाको सुरुङमार्गमा अहिलेसम्म खासै ठूलो समस्या नदेखिए पनि इन्टेकको डिजाइन र निर्माणमा भने निकै ठूलो लापर्वाही भएको देखिन्छ । इन्टेक निर्माण गर्दा बाढीको जोखिमलाई आंकलन गरेको नदेखिएको अध्ययन प्रतिवेदन हेर्दा आफूहरुले पाएको बताउँदै विज्ञहरुले यो कुरामा एडीबीले स्वेतपत्र निकाल्नुपर्ने बताउँछन् । 

Advertisement