रेमिटान्स बढेकोले ब्याजदर घट्दै गएर आर्थिक सङ्कट न्यूनीकरण हुनथालिसक्योः मन्त्री ज्वाला

Advertisement

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदै गएको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए । 
     
मन्त्री ज्वालाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने भन्दै जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जानुपर्ने बताए । सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त गर्न सक्ने उनको भनाइ थियो ।     
     
मन्त्री ज्वालाले समाजवादमा शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षालगायत विषयलाई सर्वसाधारण नागरिकको पहुँचमा पुर्याउने विशेषता हुने भएकाले पत्रकारले पनि समाजवादी तथा ग्रामीण विकासका क्षेत्रलाई महत्त्व दिएर समाचार लेख्नुपर्ने सुझाव दिए । स्थानीय तथा पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सरकारले लगानी वृद्धि गरेकाले पूँजीगत खर्च बढेको उनले बताए । यसले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने ज्वालाको विश्वास थियो ।
     
मन्त्री ज्वालाले देशमा विप्रेषण (रेमिटान्स) सङ्कलन बढेको, ब्याजदर घट्दै गएकाले आर्थिक सङ्कट न्यूनीकरण भई अर्थतन्त्र सामान्य लयमा फर्कन लागेको जानकारी दिए । उनले मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको गृहकार्य तथा तयारी सुरु भएको जानकारी दिए ।  

Advertisement

Advertisement