राष्ट्र बैंक जस्तो बोर्ड स्वायत्तता भएन भने जो अध्यक्ष भएर आए पनि काम गर्न गाह्रो छः हमाल

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले बोर्डलाई नेपाल राष्ट्र बैंकको जस्तो स्वायत्त भएर काम गर्न नदिने हो भने आफ्नो ठाउँमा जोसुकै अध्यक्ष भएर आए पनि काम गर्न गाह्रो हुने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले धितोपत्र बजारलाई नियमन गर्न बनेको संस्था स्वायत्त बन्न सकेन भने बोर्डलाई सुधारका काम गर्न गाह्रो हुने आफूले अनुभव गरेको सुनाए । बोर्डलाई अर्थ मन्त्रालयको महाशाखाअन्तर्गत जस्तो बनाउन नहुने हमालको भनाई छ । बोर्डमा उनको कार्यकाल तीन सातापछि सक्किँदै छ । 

Advertisement

हमालले भने, ‘मैले यो पदमा बसेर बोर्डको स्वायत्तताको कुरा गर्ने ? भन्ने हुनसक्छ । सरकारसँग ‘पङ्गा’ लिएजस्तो हुन्छ । त्यो होइन् । मैले संस्थाको प्रभावकारिता र धितोपत्र बजारको दिर्घकालिन विकासको लागि यो कुरा उठाएको हो । बोर्ड पनि राष्ट्र बैंक जस्तो भयो भने भोलिका दिनमा जो आए पनि अध्यक्षले काम गर्नसक्ने हुनसक्छ । त्यहीअनुसारका योग्य र क्षमतावान मानिसहरु बोर्डमा आएर काम गर्ने इच्छा राख्न सक्छन् । अटोनोमी दिइयो भने काम गर्नसक्ने अवस्था रहन्छ । अझै धेरै कुराहरु सुधार गर्न पनि सकिन्छ ।’ 

बोर्डको अध्यक्षमा दोहोरिने कुरामा व्यक्तिगतरुमपा आफू अनिच्छुक रहेको उनको भनाई छ । हमालले धेरै खालका विकृति र अवरोधका बिच बोर्डको नेतृत्वले काम गर्नुपर्ने अवस्था रहेको अनुभव सुनाउँदै आफू प्रष्ट व्यक्ति भएको र गलत कुरामा सम्झौता नगर्ने भएकै कारण आफ्नो कार्यकालमा धेरै काम गर्न सफल भएको बताए । 

हमालले स्वायत्तता भएन भने सरकारले आफ्नो कार्यकाल थप भएर पनि त्यसको अर्थ नहुने बताए । उनले भने, ‘अटोनोमि भयो भने निर्णय गर्ने क्षमता राख्छ । संस्थामा पनि डेलिभरी दिनसक्ने हैसियत भएको मानिस आउनसक्छ । नहुने हो भने त्यो पदप्रति नै आकर्षण हुँदैन् । काम गरौं भन्ने सोच भएको मान्छे जागिर खान मात्रै जाँदैन् । त्यसकारण मेरो निरन्तरता महत्वपूर्ण कुरा होइन् । यो संस्थाको महत्व के हो ? यसले के के गर्नुपर्ने हो ? संस्थालाई के भार दिएको हो सरकारले ? जसको आफ्नो अहिलेसम्म कार्यालय छैन् । सिंहदरबारको पेरिफेरिमा हुनुपर्ने अफिस अर्को जिल्लामा रिङरोडभन्दा बाहिर छ ।’ सेवाग्राही, जसले कर तिर्छन्, तिनको हित र सुविधाका लागि पनि बोर्डको कार्यालय राजधानीको मुख्य भागमा हुनुपर्ने उनको तर्क छ । 

अध्यक्ष हमालले अहिलेसम्म आफूसँग कुनै पनि सुचीकृत कम्पनीको एक कित्ता शेयर पनि नरहेको दावी पनि गरे । आफूलाई चलखेल गरेर पैसा कमाउनुपर्ने जरुरी नै नरहेको उनको भनाई छ । हमालले बोर्डमा थोरै संख्यामा कर्मचारीहरु गलत नियतका रहेको र उनीहरुले संस्थाभन्दा पनि व्यक्तिगत फाइदाका काम गर्नेहरु रहेको बताउँदै ९५ प्रतिशत कर्मचारीले संस्थाको राम्रो होस, प्रगति होस् भन्ने अपेक्षा राख्ने तर अरु कुरामा अनावश्यक चासो नराखी काम गर्ने बताए । 

Advertisement

Advertisement