काठमाडौं। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको बिजुलीको लाइन काटेर आफूहरुको रोजीरोटी खोस्न लागेको भन्दै सम्वन्धित उद्योगका मजदुरहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
आफूहरु कार्यरत उद्योगहरु विद्युत लाइन कटौतीका कारण बन्द भएपछि उनीहरु सडकमा उत्रिएका हुन् । प्राधिकरणले लोडसेडिङ हुँदाको समयको विवादित प्रिमियम महशुल अशुल्ने नाममा ठूला उद्योगहरुमा लाइन काट्न थालेको छ ।
उद्योगहरुले बिना कानुनी आधार र टीओडी मिटरको डाटाबिन पैसा तिर्न तयार नरहेको बताउँदै आए पनि प्राधिकरणले भने बलपूर्वक बक्यौता उद्योगको नाममा जोड्दै आफ्नो वासलात नाफामा देखाउँदै आएको छ । प्राधिकरणले यस्तो बक्योता २७ अर्बभन्दा बढी पुगेको दावी गरेको छ । जबकी यो विवाद सुरु हुँदा यस्तो बक्योता साढे चार अर्ब मात्रै रहेको जनाइएको थियो । प्राधिकरणले हरेक महिना यो विवादित बक्यौतामा जरिवानासमेत जोड्दै आफ्नो नाफा बढाउँदै गएको छ ।
सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले मौन बसेका उद्योगका मजदुरहरु आज बुधबार उद्योग तथा कार्यालयहरु खुलेसँगै विरोधमा उत्रिएका हुन् । आज बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरे । यसअघि सुनसरीको रिलाइन्स स्पिनिङ मिल्सका मजदुरहरु विरोधमा उत्रिँदै प्राधिकरणको स्थानीय कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
मंगलबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरले विरोध प्रदर्शन सुरु भएकोमा त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरु पनि विरोधमा उत्रिएका छन् । प्राधिकरणले डेडिकेटेड तथा ट्रकलाइनको महशुल विवादमा राखेका उद्योगहरुमा ५० हजारभन्दा बढीले प्रत्यक्षरुपमा काम गर्दै आएका छन् ।
जगदम्बा स्टिलमा मात्रै करिव तीन हजार पाँच सय, त्रिवेणी स्पिनिङमा करिव दुई हजार पाँच सय र हुलास स्टिलमा करिव एक हजार पाँचसय सय, रिलाइन्स स्पिनिङ मिल्समा चार हजारभन्दा बढी मजदुरहरु कार्यरत छन् ।
जगदम्बा स्टिललगायतका बाराका उद्योगहरुको मजदुरहरुले आ–आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएर प्राधिकरण र सरकारको विरोध जनाए । उनीहरुलेप्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै उनीहरुले प्रदर्शन गरेका छन् ।