आठ महिनादेखि इङ्वा खोलाको ५४ करोड बीमा दाबी भुक्तानी दिन आनाकानी गर्दै राष्ट्रिय बीमा कम्पनी

Advertisement

काठमाडौं । विगत आठ महिनादेखि अपि पावर कम्पनीको रु. ५४ करोड बीमा दावी भुक्तानी दिन राष्ट्रिय बीमा कम्पनीले आनाकानी गरेको पाइएको छ । 
 
पछिल्लो समयमा बीमा कम्पनीहरुबाटै दावी भुक्तानी नदिएका, कम्पनीकै सीईओहरुले बीमितको पैसा अपचलन गरेका, किर्ते गरिएका जस्ता समाचारहरु आइरहेको बेला राष्ट्रिय बीमा कम्पनीले पनि जलविद्युत कम्पनीलाई दावी भुक्तानी दिन आलटाल गरेको तथ्य बाहिर आएको हो । 

सरकारको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले बदनियतपूर्ण ढंगले दावी रकम भुक्तानीमा ढिलाई गरेको हो । आफूहरुले निकै ताकेता गर्दा पनि पाउनुपर्ने भुक्तानी दिन कम्पनीले आनाकानी गरेको भन्दै अपि पावरका सीईओ संजिव न्यौपानेले आफू मिडियाको सहारामा आउन बाध्य भएको बताए । 

Advertisement

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफ्ना सम्पूर्ण कागजाज सही रहँदारहँदै पनि बीमा कम्पनीले अकारण भुक्तानी रोक्दा दुःख लागेको बताए । 

यस्तो छ घटनाको घटनाक्रमः 
अपि पावर कम्पनीले पाँचथरस्थित इङ्वा खोला जलविद्युत आयोजनाको एक करोड ५० लाख रुपियाँ बीमाशुल्क (प्रिमियम) बुझाएर एक अर्ब रुपियाँ बराबरको बीमा गरेको थियो । गत जेठ ३२ गते इन्द्रावती (इङ्वा) खोलामा आएको ठूलो बाढी पहिरोले अन्य धेरै आयोजनाहरुमा जस्तै अपिर पावरले बनाएको आयोजनाको बाँधक्षेत्र, पाइपलाइन, पावरहाउस, क्रसर उद्योग, विद्युत प्रसारण लाइनमा पनि ठूलो क्षति भयो ।  

आयोजनाको भएको क्षतिको चार किस्सासहितको सर्जिमिन विवरण प्रहरीले सबै स्थानीय जनप्रतिनिधि, अन्य सरोकारवालाहरुलाई समेत राखेर गरेको देखिन्छ । कुल ९.०७ मेगावाट क्षमताको यो आयोजनामा निकै ठूलो क्षति भएको कुरा सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा पनि त्यतिबेला आएका थिए । 

आयोजनामा क्षति भएको आधारमा मूल्यांकन गरी अपि पावरले क्षति मूल्यांकनका आधारमा पाउनुपर्ने ५४ करोड रुपियाँ पाउन गत असार ३ गते नै राष्ट्रिय बीमा कम्पनीमा निवेदन दिएको थियो । तर अपिले माग राखेसँगै बीमा कम्पनीले भने सकेसम्म सम्पर्कमा आउन नखोज्ने, कुराकानी गर्न आलटाल गर्ने, बहाना बनाएर नभेट्ने जस्ता काम गर्दै आयो । 

सीईओ न्यौपानेले सरकारी स्वामित्वकै बीमा कम्पनीले प्रहरीको प्रतिवेदनसहित आयोजनाको भएको क्षतिको सम्पूर्ण विवरण र आवश्यक कागजाज बोकेर धाउँदा पनि आठ महिनादेखि दाबी भुक्तानीमा आलटाल गर्दा आश्चर्य लागेको बताए । उनले भने, ‘आयोजनाको जोखिब बहन हुन्छ । क्षति भयो भने बीमा कम्पनीले त्यसको क्षतिपूर्ति दिन्छ भनेर न बीमा गर्ने हो । नत्र किन त्यति धेरै महंगो प्रिमियम तिर्नु ? हामी धाएको आठ महिना भइसक्यो । आयोजनाको कति धेरै क्षति भएको छ ? त्यो स्वयम यहाँहरुले पनि मिडियामा देख्नुभएको छ । प्रहरी रिपोर्ट दिएको छ । तै पनि उहाँहरु भुक्तानी दिन नपाए हुन्थ्यो जस्तो गर्नुहुन्छ ।’ 
 
राष्ट्रिय बीमा कम्पनीको व्यवहार निर्क लज्जास्पद रहेको बताउँदै उनले यस्तो शैलीले नेपालका बीमा कम्पनीहरुप्रति नै जनताको विश्वास झन गिर्दै जाने बताए । जलविद्युत कम्पनीहरुलाई बीमा कम्पनीबाट समयमा दाबी भुक्तानी पाउन निकै सकस हुने गरेको तर जलीवद्युत कम्पनीहरुले खुलेर यस्तो प्रवृत्तिको विरोध गर्न नसकेको न्यौपानेले बताए । 

उनी थप्छन्, ‘त्यसै पनि जलविद्युत बीमा महंगो बनाइएको छ । अझै महंगो बनाएको भए पनि फरक पर्थेन् । तर क्षति भएको देखेपछि र त्यसको प्रमाणको आधारमा मूल्यांकन भएपछि त समयमा नै दाबी भुक्तानी दिनुपर्यो नि । नदिए हामीले कसरी आयोजना पुनर्निर्माण गर्ने ? कसरी कम्पनी चलाउने ? 

बीमा कम्पनीबाट जलविद्युत आयोजनाको दाबी भुक्तानी पाउन ठूलै विवाद गर्नुपर्ने, अदालतमा मुद्दा मामिला झेल्नुपर्ने, अनावश्यक तनाब झेल्नुपर्ने अवस्था अन्त्य गर्न सरकार र नेपाल बीमा प्राधिकरणको पनि ध्यान दिनुपर्ने सीईओ न्यौपानेले बताए । बलियो क्षमता भएका पुनर्बीमा कम्पनीहरुसँग मात्रै ठूला किसिमका दाबी भुक्तानी राख्न सकेमा बीमितहरुले भोग्नुपर्ने अनावश्यक सास्ती कम हुने उनको विश्वास छ । 

उनले भने, ‘नेपालका बीमा कम्पनीहरुले बीमितलाई सहजीकरण गर्दिनुपर्यो । बीमा प्राधिकरण निरीह निकाय जस्तो भएर बसेर हुँदैन् । यस्ता मुद्दामा प्राधिकरणका अध्यक्षले पनि बोल्दिनु पर्यो । अहिले हामीलाई राष्ट्रिय बीमा कम्पनीले जुन सास्ती दिइरहेको छ । अरुलाई पनि यस्तै सास्ती होला । के हो ठिक हो त ? यही हो बीमा भनेको ? अरु देशमा पनि यस्तो हुन्छ जस्तो मलाई लाग्दैन् । बीमा गरेको आयोजनामा क्षति हुँदा क्षतिपूर्ति दिन दुःख दिनुपर्नेगरी किन बीमा कम्पनी चलाउनु ? कि हामीले गलत ढंगले दावी पेश गरेको, नक्कली कागजाज पेश गरेको, नभएको क्षति देखाएर क्षतिपूर्ति माग गरेको हो भने प्रमाण देखाए हुन्छ । होइन् भने दुःख दिने दिने ?’

सीईओ न्यौपानेले बीमितहरुले अनलाइनबाटै उजुरी दिन मिल्ने व्यवस्था गर्नुपर्ने, फाइलहरुको अत्तोपत्तो नहुने वातवारणको अन्त्य हुनुपर्ने बताए । उनले विदेशी लगानी भित्राउन मद्दत गर्नेगरी नेपालका बीमा कम्पनीहरुको हैसियत र प्रतिष्ठा बढाउनुपर्ने जरुरी आफूले देखेको बताए । देशको आर्थिक अवस्था विषम रहेको र यस्तो बेला बीमा क्षेत्रको विशेष भूमिका हुनुपर्ने निरीहपन देखिनु लज्जाको विषय भएको बताए । 
 
‘हामीले बीमा कम्पनीसँग चन्दा मागेको हो र ? चन्दा मागेको जसरी बीमाको रकम माग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’ न्यौपानेले भने, ‘बीमा पोलिसि बेच्ने बेलामा चिल्ला कुरा गर्ने । दावी रकम तिर्ने बेलामा कम्पनीका कर्मचारीहरु बेपत्ता हुने अवस्थाको अत्य हुनुपर्छ । वास्तवमा भन्दा बीमा क्षेत्रमा लापरबाहीको पराकाष्ठा भयो । त्यसलाई मैले चिर्ने प्रयास गरेको हुँ । यस्ता बेथिति अन्त्य गर्न बीमा क्षेत्रको नियामक निकाय र अर्थ मन्त्रालय पनि बोल्नुपर्छ ।’  

उनले सिर्जित मुनाफाबाट कम्पनीलाई बलियो बनाउने, ईपीएस बढाउने, एउटा बीमा गरेको नेपाली रुँदा शेयरधनी नेपालीलाई खुशी पार्ने चलन पनि बन्द हुनुपर्ने बताउँदै अझ जलविद्युत कम्पनीका सञ्चालकहरु खोलाको डिलमा बसेर रुँदा अरुले मस्ती गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । 

यता राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले भने अपि पावरलाई दिनुपर्ने पैसा आफूहरुको मूल्यांकनअनुसार २८ करोड मात्रै भएको र आफूहरुले मूल्यांकन गर्ने काम गरिरहेको तर्क गरे । 

उनले भने, ‘हामीलाई उहाँहरुले दाबी भुक्तानी माग्नु भएको कुरा सत्य हो । यसका लागि हामीले अपि हाइड्रोमा सर्भेयर पठाइसकेका छौं । अहिलेको प्रारम्भिक रिर्पोट अनुसार उहाँहरुले पाउनुपर्ने पैसा २८ करोड रुपियाँ छ । सर्भेयरको फाइनल रिर्पोट आएको छैन् । रिर्पोट आएपछि मात्रै विस्तृत रुपमा भन्न सकिने अवस्था रहन्छ ।’ 

बीमितले दिएको मूल्यांकनका आधारमा मात्रै आफूहरुले दावी भुक्तानी नदिई कोइरालाको भनाई छ । उनले भने, ‘ग्राहकले दाबी गरे पनि हाम्रो सर्भेयरले क्षतिको मूल्यांकन गरेपछि मात्रै त्यसलाई आधार बनाएर बोल्नसक्ने अवस्था रहन्छ । त्यो आधारमा दावी भुक्तान दिने कुरा हुन्छ ।’ किन आठ महिना झुलाइएको ? भन्ने प्रश्नमा कोइरालाले सर्भेयरबाट काम सक्किन बाँकी रहेको जिकिर गरे । 

Advertisement

Advertisement