बैंकिङ कसुरमा अदालतबाट चार करोड जरिवाना ठहरपछि फरार कार्की नौ वर्षपछि पक्राउ

Advertisement

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर गरेका एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीय मन्दिरा केसी कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Advertisement

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले भक्तपुरको साबिक चाँगुनारायण गाविस–७ र ९ मा रहेका जग्गाको धितो राखेर ऋण निकालेर लगानीको दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिए । ‘मन्दिराले आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालिको नाममा ऋण बनाएर लगानी नगरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने । 

मुद्दामा साबिक पुनरावेदन अदालत पाटनको २०७१ साल वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र रु चार करोड जरिवाना हुने ठहर गरेको थियो । शनिबार काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ परेकी मन्दिरालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताए । 

Advertisement