वन कार्यालय परिसरमै गोलिया काठ सड्दै

Advertisement

फुङ्लिङ । डिभिजन वन कार्यालय ताप्लेजुङ कार्यालय परिसरमा एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ ।

कार्यालयले दुईपटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो ।

Advertisement

कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको कार्यालयले जनाएको छ ।

बिक्री नभएपछि कार्यालय परिसरमा रहेको एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ काम नलाग्ने गरी सड्दै गएको उनले बताए ।

कार्यालयका अनुसार एक हजार ३७८.४४ क्युविक फिट उत्तिस र २४.४७ क्युविक फिट मलातो प्रजातिको काठ सड्दै गएको हो । करिब दुई वर्षअघि अवैधरूपमा कटान गरिएको अवस्थामा फेला पारी वन कार्यालयले काठ नियन्त्रणमा लिएको थियो । सडेको काठ प्रयोगमा नआउने र यसबाट राजस्व रकमसमेत गुमाउनुपर्ने अवस्था बनिरहेको वन कार्यालयले जनाएको छ ।

Advertisement