देउवाले बोलाएर संसदीय दलको जरुरी बैठक, सत्ता गुम्नलागे दाहालले अप्रिय कदम चाल्नसक्ने

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भइरहेको गठवन्धन तोडेर नेकपा एमालेसहितको नयाँ समीकरण बनाएसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दाहालको विकल्प खोज्न लागेको छ । 

यही सन्दर्भनमा कांग्रेसले संसदीय दलको जरुरी बैठक बोलाएको छ । बैठक बिहीबार बिहान बस्नेछ । नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्मलाई प्रधानमन्त्रीको विकल्पको रुपमा स्वीकार गर्न सकारात्मक देखिएको कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बुधबार) बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका थिए । 

Advertisement

दाहालले धोका दिएसँगै प्रमुख प्रतिपक्षमा पुगेपछि कांग्रेसका सभापतिसहितका नेता सक्रिय भएका हुन् । उनीहरु कुनै पनि शर्तमा दाहाललाई सत्ताको नेतृत्वमा कायम नराख्ने रणनीतिमा देखिन्छन् । सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता गरिसकेको छ । 

यता एकीकृत समाजवादीले एमाले र माओवादी केन्द्रको प्रस्तावअनुसार सरकारमा जाने कि देउवाको प्रस्ताव अनुसार नयाँ समीकरणको प्रतिक्षा गर्ने ? भन्ने सम्वन्धमा छलफल गर्न आज बैठक बस्दैछ । स्वतन्त्र पार्टीका नेताहरु पनि आफ्नो पार्टीका सभापति प्रधानमन्त्री हुने अवसर पाए छोड्न नहुने पक्षमा देखिएका छन् । 

सरकार बनाउने र भत्काउने खेल चलिरहँदा विदेशी चलखेल पनि बढेर गएको छ । पश्चिमा समर्थनको गठवन्धन भत्किएर चीनको समर्थनमा कम्युनिष्ट पार्टीहरुको नयाँ गठवन्धन बनेको कतिपय विश्लेषकहरुको तर्क छ । 

अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा व्यक्तिहत्यादेखि बालसैन्य र भ्रष्टाचारको ठूलठूला मुद्दाको जोखिम सामना गर्दै आएका प्रधानमन्त्री दाहाललाई सत्ता बाहिर रहनु बढी असुरक्षित हुने देखिन्छ । सोही कारण कुनै पनि शर्तमा सत्तामा रहिरहने उपाय अपनाउँदै आएका छन् । प्रधानमन्त्री पद गम्ने अवस्था सिर्जना हुँदा उनले जुनसुकै हदमा गएर अप्रिय कदम चाल्नसक्ने सहजै अनुमान गर्न सकिन्छ ।  

Advertisement