काठमाडौं । कात्तिक २५ देखि पाँच महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका नाममा बन्द गर्ने तयारीपछि निजी क्षेत्रको आन्तरिक उडान सेवा बुद्ध एयरले आफ्नो उडान तालिका हेरफेर गरेको जनाएको छ ।
उडान समय छोट्याउँदै उसले नयाँ उडान निर्देशिका जारी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २५ बाट बेलुका १० बजेदेखि बिहान ८ बजे सम्म ‘नोटाम’ (उडान र अवतरण बन्द रहने) जारी गरेको छ ।
विमानस्थल स्तरोन्नतीपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने आशा लिँदै बुध्द एयरले केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतीमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको बताएको छ ।
बुद्धले भनेको छ, ‘छोट्याइएको उडान समय जाडो महिनाको रहेको छ । जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिविलिटिका कारण नियमित सञ्चालन प्रभावित हुनेगरेको छ । ‘आईएफआर’ गन्तव्यमा रात्री उडान भएता पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरि भीएफआर गन्तव्यहरुमा भिजिविलिटिका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ ।’
बुध्द एयरले आफूसँग समयमै उडान भर्न पर्याप्त जहाजहरु रहेको बताउँदै तर पनि कतिपय अवस्थामा प्रतिकुल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेको स्वीकार गरेको छ ।
खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको बताउँदै कम्पनीले यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने, उडान रद्द भएका टिकटहरुलाई ‘रिफण्ड प्रोसेसिङ’मा हालिने, अनलाइन टिकेटिङको हकमा त्यहिँबाट रिफण्ड हुने, यसका लागि ३ देखि ४ दिनको समय लाग्ने बताएको छ । ट्राभल ऐजन्सीबाट टिकट लिएकाहरुले भने सोही ठाउँमा सम्पर्क गर्न बुद्ध एयरले आग्रह गरेको छ ।
एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले सेड्युल’ उपलब्ध नगराइने कम्पनीको भनाई छ । अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुने कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।