काठमाडौं । प्रसिद्ध अटोमोबाइल ब्राण्ड टाटा मोटर्सले निकै सस्तो मोडल टाटा नानोलाई पुनः परिस्कृत र अब्बल फेमेली कारको रुपमा बजारमा उतारेको छ । कम्पनीले हालैमात्र भारतीय बजारमा नयाँ नानो सार्वजनिक गरेको हो ।
पुरानो नानाको तुलनामा नयाँ नानोको डिजाइन, फिचर्स र पर्फमेन्समा निकै अब्बल रहेको कम्पनीले दाबी गरेको छ । पुरानो नानोको मूल्यको दाजोमा नयाँ नानो निकै सस्तो र सुरक्षित समेत रहेको कम्पनीको दाबी छ । जसले मध्यम वर्गका परिवारलाई उत्कृष्ट र सुरक्षित उत्पादन दिने टाटाको प्रतिवद्धता फेरि एकपटक पुरा गरेको कम्पनीले बताएको छ ।
न्यू नानो ६२४ सीसी पेट्रोल इन्जिनमा उपलब्ध छ । त्यसो त पुरानो नानो पनि ६२४ सीसी पेट्रोल इन्जिनमा नै उपलब्ध थियो । तर, पछिल्लो उत्पादनमा ४० बीएचपी पावरको साथमा ६९ एनएमको ट्रान्समिसन टक्र्युको उत्पादन गर्ने क्षमता प्रदान गरिएको कम्पनीले जनाएको छ ।
पुरानो नानोले २१ देखि २४ किलोमिटर माइलेज दिनेमा नयाँ परिस्कृत नानोले ३० किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । फोर सिटर प्रिमियम लुक्समा रिडिजाइन गरिएको न्यू टाटा नानोलाई १०५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिने कम्पनीले जनाएको छ ।
डिजाइन, पर्फमेन्स र मूल्य
आकर्षक लुक्स र साजसज्जाको साथमा रिडिजाइन गरिएको न्यू नानोको भित्री भागलाई पनि व्यापक परिमार्जन गरिएको छ । कारको क्याबिनमा अत्यावश्यकका साथ साथै अतिरिक्त फिचर्स उपलब्ध पावर वीन्डो उपलब्ध गराइएको छ । एयर कन्डिसनिङ, म्युजिक सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट, नेभिगेसन, स्पिडोमिटर, म्यापिङ सिस्टमका साथमा कारमा स्मार्ट डिभाइस लिंक तथा एपल कार प्ले सुविधा उपलब्ध छ । न्यू नानोमा कम्फर्ट र परिस्कृत सिट, फराकिलो फुट स्पेसले कारलाई विशेष बनाएको कम्पनीको दाबी छ ।
१८० एमएम ग्राउन्ड क्लियरेन्समा उपलब्ध न्यू नानो खासगरी सिटी कार भएपनि यसलाई ग्रामीण अफ रोडमा समेत गुडाउन सकिने कम्पनीको दाबी छ ।
आकर्षक र परिस्कृत मोडलमा उपलब्ध नयाँ नानोलाई २.३–२.५ लाख अर्थात् २ लाख ३० हजार रुपियाँ भारुदेखि २ लाख ५० हजार भारुमा नै उपलब्ध गराईने कम्पनीले जनाएको छ । यसअघिको नानोको मूल्य २ लाख ३६ हजार भारुदेखि ३ लाख ३७ हजार भारुसम्म रहेको थियो ।