आज २६१औं सेना दिवस, टुँडीखेलमा विविध कार्यक्रम गरी मनाइँदै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सव काठमाडौंको टुँडीखेलसहित मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

Advertisement

सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती हुनेछ ।
 
जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताए । 

सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नबिर्सन सुझाव दिए । 

Advertisement

Advertisement