सत्ता गठबन्धन परिवर्तन गर्ने मुख्य पात्र दाहाल हो, साथ दिने म हो, छिमेकी होइन्ः ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य शक्तिको हात नरहेको बताएका छन् । बुधवार प्रतिनिधि सभामा उनले नयाँ सत्ता समीकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताए । ओलीले नयाँ सत्ता समीकरण निर्माणको काम मुख्य पात्र प्रधानमन्त्री दाहाल भएको र साथ दिने आफू पनि रहेको बताए । 

उनले नयाँ सत्ता समीकरण निर्माणको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्न पनि काँग्रेसलाई आग्रह गरे । पछिल्लो समयमा चीनको समर्थनमा सरकार बनेको चर्चा हुने गरेको छ । ओलीले भने, ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली काँग्रेस । राम्रो जति सबै आफैले गरेको । अरुलाई एक छेउ जस दिन्छ ? यस पल्ट पनि नेपाली काँग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरु पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि । सरकार परिवर्तन, यताउता । यी साना कामहरु । हाम्रो देश भित्रका कामहरु त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले ग¥यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाईलाई जस पनि हुन्छ नि अलिकति ।’

Advertisement

उनले राम्रो कामको जस काँग्रेस एक्लैले लिने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरुले मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुने ओलीको भनाई छ । उनले दाहालले राखेको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरुले मिलेर पारित गर्नु उपयुक्त हुने बताए । 

ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रश्ताव राख्ने क्रममा गरेको तर्क, विश्लेषण र नयाँ सत्ता समीकरण बनाउनुको कारणबारे दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको पनि बताए । उनले ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रश्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्यो भन्ने कारण । र अब उहाँ के चाहनु हुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा । सबै कुराहरु सविस्तार बताउनु भयो । र कुराहरु, कारणहरु चित्तबुझ्दो छ । म समर्थनबाटै शुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रश्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’

ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताए । 

Advertisement

Advertisement