गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

Advertisement

काठमाडौं । सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ आज सार्वजनिक गरिने भएको छ । सत्ता गठबन्धनले गठन गरेको १० सदस्यीय कार्यदलले सरकारका नीतिगत प्राथमिकता र साझा संकल्पमा १३ विषयलाई प्रमुखता साथ समेटेको बताइएको छ, जसमा आर्थिक शिथिलता अन्त्य र वित्तीय संस्थालाई विसंगती मुक्त बनाउने कुरालाई मुख्य जोड दिइएको छ ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य रहेका थिए ।

Advertisement

सार्वजनिक संरचनागत सुधार, छरितो सेवा प्रवाहसँगै सुशासन, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनका मुद्दालाई गठबन्धनले साझा संकल्प बनाएको छ । 

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वय, ऊर्जा विकास, सूचना र सञ्चार, भूमि व्यवस्था, वन–वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशिता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति, राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायतलाई सरकारले प्राथमिकताका क्षेत्र बनाएको छ ।


कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतालाई न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प बुझाएको थियो । त्यो प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले प्राथमिकता र साझा संकल्पलाई अनुमोदन गरेपछि सार्वजनिक गरिने भएको छ ।

Advertisement

Advertisement