वैदेशिक रोजगारीका लागि आठ महिनामै पौने ५ लाख नेपाली विदेशिए

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीका लागि आठ महिनामै पौने पाँच लाख नेपाली विदेशिएका छन् । यद्यपि यो संख्या गत बर्षको सोही अवधिभन्दा केही कम हो । 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०–८१ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ४ लाख ७१ हजार २१० जना छ । यो गत बर्षको सोही अवधिभन्दा १३.४३ प्रतिशतले कम हो । यो संख्या गएको आर्थिक बर्षको भन्दा ७३ हजार ११० जना कम हो । 

Advertisement

गत आवको आठ महिनामा ५ लाख ४४ हजार ३२० नेपाली बैदेशिक रोजगारमा गएका थिए । गत आर्थिक बर्षभरमा भने सात लाख ७४ हजार ९७६ नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए जुन हालसम्मकै उच्च संख्या हो । 

आर्थिक मन्दी, देशको विषम राजनीतिका कारण जनतामा छाएको निराशा र वितृष्णा, देशमा उद्योगधन्दाको विकास र रोजगारीका अवसरहरु सिर्जना हुननसक्दा युवा पलायन तीब्र भएको छ ।  कोरोना महामारीका क्रममा वैदेशिक रोजगारीमा जानेको संख्या कम भए पनि त्यसपछि भने तीब्ररुपमा बढेको छ । 

गत आवमा मेलेसियाबाट पनि नेपाली कामदारको माग उच्च थियो । तर, यस पटक भने गत बर्षको सरह नेपाली कामदार विदेशिने क्रम कम देखिए पनि गएको संख्या भने ठूलो हो । समीक्षा अवधीमा दुई लाख ८६ हजार ९३२ जना नेपाली कामदार नयाँ श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका छन् भने एक लाख ८४ हजार २७८ भने पुरानै श्रम स्वीकृत नवीकरण गरेर बैदेशिक रोजगारीमा गएका हुन् । 

कुन देशमा कति गए ? 
समीक्षा अवधीमा युएईमा सबैभन्दा धेरै नेपाली कामदार गएका छन् । त्यहाँ एक लाख २१ हजार १६४ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् । दोस्रो स्थानमा भने साउदी अरब रहेको छ, त्यहाँ ९१ हजार ९२९ नेपाली कामदार गएका छन् । तेस्रो स्थान रहेको कतारमा ९१ हजार १२४ नेपाली रोजगारीका लागि गएका छन् । 

रोजगारीका लागि नेपालीहरु विदेशिने संख्या बढेसँगै रेमिट्यान्स आप्रवाह पनि वृद्धि भएको छ । समीक्षा अवधीमा यो २१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार फागुनसम्म नेपालमा नौ खर्ब ६१ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स आएको छ । गत आवको सोही अवधीमा सात खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो ।undefined

Advertisement

Advertisement