दुई अर्ब विद्युत् बक्यौता नतिर्ने दुई हजारभन्दा बढी ग्राहकको लाइन काटियो

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार १४६ ग्राहकको लाइन काटेको छ ।

एक अर्ब ९७ करोड पाँच लाख ८८ हजार ७५६ रुपियाँ बक्यौता नतिर्नेको लाइन काट्दा एक हजार ८२८ ले मात्रै पुनः मिटर जडान गरेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिए । घोराही वितरण केन्द्रअन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका पर्ने गर्दछन् । जसअन्तर्गत ५१ हजार ४७७ ग्राहक रहेका छन् ।  

Advertisement

शर्माका अनुसार सात करोड ६० लाख ३९ हजार ५०८ रुपियाँ मात्रै बक्यौता तिरेर नयाँ जडान गरिएको छ । बाँकी ३१८ जनाले अनधिकृत रूपमा विद्युत् प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर शर्मा बताउनुहुन्छ । उनले भने, ‘लाइन काटिएका ३१८ ले बत्ती नबाली बसेकै छैनन् । उनीहरूले अनधिकृत रूपमा जडान गरेको जस्तो देखिन्छ ।’ 

विद्युत् महसुल नियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औँ दिनभित्र महसुल नबुझाएमा जुनसुकै बेला लाइन काटिन सक्ने व्यवस्था भए अनुसार जिल्लामा लाइन काट्न सुरु गरेको इन्जिनियर शर्माको भनाइ छ । लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले पछिल्लो समय कडाइ गरिरहेको उनले प्रस्ट पारे ।  

अनधिकृत रूपमा विद्युत् प्रयोग गर्ने जिल्लाभर करिब छ सय ग्राहक रहेको तथा घोराही र लमही वितरण केन्द्रअन्तर्गत पनि अनधिकृत रूपमा विद्युत् प्रयोग गरेको हुन सक्ने अनुमान कार्यालयको छ । 

शर्माले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेलाई कालो सूचीमै राख्ने गरी तयारी गरिएको जानकारी दिए । ‘हामीले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेको निगरानी गरिरहेका छौँ । अब पुनः लाइन काट्ने मात्रै हुँदैन मिटर नै थुतेर कालो सूचीमा राख्ने गरी तयारी गरेका छौँ,’ उनलेभ भने । 

यसअघि प्राधिकरणले २०८० कात्तिक १३ देखि २२ गतेसम्म समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेको थियो ।

अभियानमा घोराहीमा ५४ लाख १९ हजार ५९७ रुपियाँ नतिरेका ६९२ ग्राहकको लाइन काटिएको थियो । नेपाल विद्युत् प्राधिकरण लमहीले ८४ लाख बक्यौता नतिरेका ८१७ ग्राहकको लाइन काटेको थियो । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले अभियानका क्रममा २४ लाख १६ हजार २७५ रुपियाँ बक्यौता तिर्न बाँकी भएका २७० ग्राहकको लाइन काटेको थियो ।

Advertisement