कृषि बीमा दाबी भुक्तानी तत्काल सुरु गर्न प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दाबी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो ।

संघले नेपाल सरकारले कृषि बीमाको अनुदान रकम नदिएसम्म दाबी भुक्तानी नगर्ने भन्दै पुरानै अडानसहित बुधबार एक विज्ञप्ति जारी गरेको थियो । तर, प्राधिकरणले भने उक्त निर्णयबाट पछि हट्न बीमा कम्पनीहरूलाई निर्देश दिएको हो ।

Advertisement

‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी सुचारु गरियोस्,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनियतामा नै असर पर्ने खालका विज्ञप्ति एवं सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले जानकारी गराएको छ ।

Advertisement