नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपछि कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको जनाएको छ । 

बोनसदरका विभिन्न योजनाअन्तर्गत सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ६० रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन् । यसमा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकलजस्ता बीमा योजना रहेका छन् ।

Advertisement

त्यसैगरी, सावधिक जीवन बीमालेखअन्तर्गतकै ‘नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजना’मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ६५ रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म बोनस पाउनेछन् । सोही बीमालेखको ‘जीवन समुन्नत बीमा योजना’ मा कम्पनीले बीमितलाई न्यूनतम ५६ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस दिने घोषणा गरेको छ ।

सावधिक जीवन बीमालेखको ‘सुनौलो भविष्य जीवन बीमा योजना’ (विकल्प १ र विकल्प २) बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ६० रुपियाँ र अधिकतम ६५ रुपियाँसम्म बोनस दिने भएको छ । साथै, यही बीमालेखअन्तर्गतको ‘सुनौलो भविष्य जीवन बीमा योजना’ (विकल्प १– एकल बीमाशुल्क योजना) मा बीमितले न्यूनतम ५५ रुपियाँ र अधिकतम ६० रुपियाँसम्म बोनस पाउनेछन् ।

कम्पनकी अनुसार सावधिक तथा आजीवन बीमालेखको ‘जीवन साहारा र अनमोल जीवन बीमा योजना’ मा बिमितले न्यूनतम ६० रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म बोनस पाउनेछन् । साथसाथै, अग्रिम झुक्तानी सावधिक बीमालेखको ‘जीवन सम्वृद्धि योजना’ मा बिमितले सबै बीमा अवधिमा ५० रुपियाँ बोनस पाउने कम्पनीले घोषणा गरेको छ । 

त्यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेखको सबै बीमा अवधिमा समेत कम्पनीले बिमितलाई समान ५० रुपियाँ बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नति, छोराछोरी र सदावहार जीवन बीमा योजना रहेका छन् ।

यसबाहेक कम्पनीले बिमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेको ‘नौलो जीवन सम्वृद्धि बीमा योजना’ को सबै बीमा अवधिमा ५१ रुपियाँ बोनस पाउने जनाएको छ । त्यसैगरी, अन्य बीमालेखको ‘जीवन सारथी योजना’ मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ६२ रुपियाँदेखि अधिकतम ८५ रुपियाँसम्म बोनस पाउनेछन् । 

Advertisement