उच्च आर्थिक वृद्धिको लक्ष्य छुन स्वदेशीले नपुगेर विदेशी लगानीमा जोड दिएका हौंः पुन

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको बताएका छन् । 

आइतबार सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उनले आन्तरिक लगानी थोरै भएको बताएका हुन् । नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको पनि पुनले दावी गरे । 

Advertisement

उनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको भन्दै सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताए । 

सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने मन्त्री पुनको आशा छ । उनले सम्मेलन नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने विश्वास व्यक्त गरे । 

उनले नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको दावी पनि गरे । नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै उनले उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको बताए । 

हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने मन्त्री पुनको दावी छ । उनले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्दै भने, ‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं । नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।’

मन्त्री पुनले नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको बताए । उनले सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । 

Advertisement