जीवन बीमा गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै, सक्रिय बीमालेख एक करोड ३८ लाख

Advertisement

काठमाडौं । जीवन बीमा गर्ने मामिलामा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिएको छ । पछिल्लो समय सक्रिय रहेको जीवन बीमालेखमा महिला बीमितको हिस्सा ५२.२७ प्रतिशत रहेको छ । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार पछिल्लो समय नेपाली बीमा बजारमा एक करोड ३८ लाख सात हजार २४९ वटा जीवन बीमालेख सक्रिय छ । यसमा महिलाको संख्या ७२ लाख १७ हजार ४९ जना छ । 

Advertisement

कुल सक्रिय बीमालेखमा पुरुष बीमितको हिस्सा ४७.७३ प्रतिशत (६५ लाख ९० हजार दुई सय) छ । दुई करोड ९१ लख ६४ हजार जनसंख्या रहेको नेपालमा महिलाको हिस्सा ५१.१ प्रतिशत र पुरुषको हिस्सा ४८.९ प्रतिशत छ । यसरी महिलाको जनसंख्या नै बढी हुँदा बीमा गर्ने मामिलामा पनि उनीहरुकै हिस्सा बढी हुनु स्वभाविक मानिन्छ । अध्ययन तथा रोजगारीको सिलसिलामा विदेश जानेको संख्या महिलाभन्दा बढी पुरुष रहेकाले पनि बीमामा महिलाको संख्या बढी भएको हो । 

जीवन बीमाको प्रकारका आधारमा बैदेशिक रोजगार र सावधिक, एकल तथा आजीवन बीमामा भने पुरुष बीमितको हिस्सा बढी देखिएको छ । बैदेशिक रोजगार बीमामा पुरुष बीमितिको ८१.४८ प्रतिशत र महिला बीमितको १८.४२ प्रतिशत हिस्सा देखिएको छ । 

बेदेशिक रोजगारमा जाने नेपाली कामदारहरुमा पुरुष कामदारको संख्या बढी छ । त्यसले गर्दा पनि यस्तो बीमामा पुरुष बीमितको हिस्सा बढी भएको कम्पनीहरु बताउँछन् । 

यस्तै, सावधिक, एकल र आजीवन बीमामा पुरुष बीमितको ५३.३४ र महिला बीमितको ४६.६६ प्रतिशत हिस्सा छ । 

म्यादी बीमामा भने महिला बीमितकै हिस्सा बढी रहेको छ । म्यादी बीमामा महिला बीमितको ७१.४३ प्रतिशत र पुरुष बीमितको २८.५७ प्रतिशत हिस्सा रहेको छ । 

Advertisement

Advertisement