हिमालयन लाइफले कमायो साढे ४३ करोड नाफा, २९ प्रतिशत बढ्यो दीर्घकालिन लगानी

Advertisement

काठमाडौं । साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को अघिल्लो नौ महिनामा ४३ करोड ५४ लाख २९ हजार रुपियाँ खुद नाफा कमाएको छ । 

कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको सोही अवधीको तुलनामा आठ प्रतिशत कम हो । गत आवको सोही अवधीमा कम्पनीले ४७ करोड ३२ लाख ३४ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

Advertisement

कम्पनीको यो नाफा बीमांकीय मूल्यांकन हुनुभन्दा पहिलाको हो । बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले बीमा कोषको १० प्रतिशत रकम नाफा –नोक्सान खातामा सारिदिन सक्नेछन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नसक्ने छ ।

नाफा घटे पनि कम्पनीको कुल बीमाशुल्क संकलन भने बढेको छ । समीक्षा अवधीमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख रुपियाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो गत आवको सोही अवधीको तुलनामा ९ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ११ अर्ब ३५ करोड ३१ लाख रुपियाँ  कुल बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले बढायो दीघकालिन लगानी
समीक्षा अवधीमा कम्पनीले आफ्नो दीर्घकालिन लगानी २९ प्रतिशतले बढाएको छ । गत आवको चैत मसान्तसम्म कम्पनीले मुद्दती निक्षेप सहित बिभिन्न क्षेत्रमा ४० अर्ब ८८ करोड १२ लाख रुपियाँ दीर्घकालिन लगानी गरेको थियो । चालु आवको चैत मसान्तसम्म आउँदा त्यो ५२ अर्ब ७१ करोड ३७ लाख रुपियाँ पुगेको छ । मर्ज भएसँगै कम्पनीको लगानी गर्ने क्षमता बढेको छ । सोही कारण दीर्घकालिन लगानी बढाएको देखिन्छ । 

दीर्घकालिन लगानी बढाएको कम्पनीले अल्पकालिन लगानी भने २२ प्रतिशतले घटाएको छ । गत आवको चैत मसान्तसम्म कम्पनीको अल्पकालिन लगानी ११ अर्ब १० करोड एक लाख रुपियाँ थियो । अहिले त्यो आठ अर्ब ६३ करोड ३९ लाख रुपियाँमा सीमित भएको छ । 

आठ अर्ब २ करोड रुपियाँ चुक्तापुँजी भएको यस कम्पनीको नेटवर्थ १२४.२५ रुपियाँ पुगेको छ । यसैगरि, प्रतिशेयर आम्दानी ७.२४ रुपियाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ९४९.०४ रुपियाँ रहेको छ । कम्पनीको पीई रेसियो भने ५४.६४ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement