काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उनीविरुद्धको निलम्बन फुकुवा गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले क्रिकेटर लामिछानेलाई बुधबार सफाइ दिएको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र रु पाँच लाखको जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको थियो । त्यससँगै क्यानले पनि लामिछानेलाई क्रिकेट गतिविधिबाट निलम्बन गरेको थियो ।