पुनम सिंह
दुईपांग्रे र चारपांग्रेको बजार प्रवृत्ति पूर्णरुपमा फरक छ । चारपांग्रेमा विद्युतीय गाडी (ईभी)का कारण आइस इन्जिनका गाडीलाई निकै असहज अवस्था बनिसकेको छ । हरेक दिनजसो ‘अपग्रेडेड फिचर’ र फरक ‘मोडल’का नयाँ ईभी आइरहेका छन् । नयाँ प्रविधि आइरहेको छ, त्यो पनि सस्तो मूल्यमा । आइस इन्जिनका गाडीमा त्यो सीमित थियो । ग्राहकहरु क्रमशः चारपांग्रे ईभीतर्फ ‘सिफ्ट’ हुँदैछन् । पेट्रोलियम पदार्थको मूल्य उच्च र उतारचढावपूर्ण छ । अस्थिर मूल्यकै कारण बेलाबेलामा पेट्रोल पम्पमा लाइन लाग्नुपर्ने बाध्यता छ । यस्ता धेरै समस्याबाट मुक्ति पाइने आशामा पनि मानिसहरु ईभीतर्फ आकर्षित भएका हुन् । तर दुईपांग्रेमा त्यो ‘ट्रेण्ड’ आइसकेको छैन ।
दुईपांग्रेमा ईभी आउन थालेको एक दशक भइसक्यो । विभिन्न समयमा धेरै चिनियाँ तथा भारतीय ब्राण्ड भित्रिएका थिए । तर विगत दुई वर्षयताको समय हेर्दा दिगोपन देखिएन । किनभने दुई पांग्रे ईभीको मूल्य नै बढी छ । चीनबाट भित्रिएका चारपांग्रे ईभीजस्तो सस्तो मूल्यमा आएको भए, मानिसमा पक्कै पनि आकर्षण हुन्थ्यो । अहिलेकै अवस्थामा पेट्रोलबाट चल्ने मोटरसाइकल, स्कुटर छोडेर विद्युतीयतर्फ जाने वातावरण बनिसकेको छैन । तुरून्तै बन्ने अवस्था पनि देखिन्न ।
पछिल्लो समय दुईपांग्रे सवारीसाधनको व्यापारमा तुलनात्मक रुपमा सुधार आउन थालेको छ । पछिल्लो चार÷पाँच महिनालाई छोडेर २०७९ र २०८० को करिब दुई वर्षको अवधि हेर्ने हो भने त निराशाजनक नै रह्यो । अटोमोबाइल क्षेत्रको मेरो झण्डै डेढ दशकको करियरमा ११÷१२ वर्ष दुईपांग्रेको व्यापार नै हेरें । यस्तो सुस्तता कहिले पनि भोगिएन, देखिएन । अबका दिनमा त गाडी नै बिक्दैन कि ? भन्ने जस्तो लाग्थ्यो । पछिल्लो समय केही सुधारले आशा पलाए पनि सन्तोषजनक छैन । यो अवस्था दीर्घकालीन हो वा अल्पकालीन ? अध्ययनको विषय हो । यद्यपि आर्थिक मन्दी, मानिसहरुको क्रयशक्तिमा आएको शिथिलता, बढ्दो विदेश पलायन, बढ्दो बेरोजगारीजस्ता कुराले पनि दुईपांग्रेको बजारमा असर देखिएको हो जस्तो लाग्छ ।
कोरोना महामारी शुरू हुँदा बाइक र स्कुटरको व्यापार खासै नभए पनि महामारीपछि भने ‘बुम’ नै थियो । यद्यपि यो धेरै लामो समय रहेन । पछि तरलता संकुचनको समस्या सिर्जना हुन थाल्यो । सरकारले विदेशी मुद्राको सञ्चिति घटेको भनेर आयातमा पनि कडाइ ग¥यो, झण्डै १० महिना । त्यसले दुईपांग्रेसहित समग्र अटोमाबाइल क्षेत्रलाई गहिरो असर परेको देखिन्छ । हरेक वर्ष दशैं–तिहारपछि तरलता समस्या देखिन्छ अनि वैशाखपछि सुधार आउला कि जस्तो हुन्छ । बैंकहरुमा लगानीयोग्य पैसा कम भएपछि सवारी कर्जामा कमी हुन थाल्यो । पछिल्लो दुई वर्षमा वर्षभरि नै तरलताको समस्या कायम रह्यो । त्यसले समग्र अर्थतन्त्र नै शिथिल भएपछि अटोमाबाइल क्षेत्र पनि प्रभावित हुने नै भयो ।
खासमा, कारभन्दा पनि बाइक र स्कुटर बढी अत्यावश्यक वस्तु हो । न्यून आयस्तरका मानिसहरुले समेत प्रयोग गर्ने सवारीसाधन हो । तर सरकारले विलासिताको वस्तुमा राख्ने काम गरेको छ । यो व्यावहारिक नीति पक्कै होइन । सरकारको नीति अनुकूल नभएपछि त्यसको असर बजारमा पर्दै आएको छ । जति बढी सीसीको साधन ल्यायो, त्यति चर्को कर लिने सरकारको भन्सार नीति आएपछि दुईपांग्रेको आयात र बिक्रीमा गिरावट आउनुको थप कारण हो ।
युवा पलायन जटिल समस्या
दुईपांग्रे साधन चढ्ने मूल वर्ग भनेको युवा नै हो । यो वर्ग अहिले अध्ययन वा रोजगारीका लागि विदेशिने क्रम बढ्दा बाइकहरुको बिक्री निकै घटेको छ । हाम्रो लक्षित वर्ग नै नेपालमा छैन । पहिला स्पोर्टी बाइक १८ वर्षभन्दा माथिको उमेर समूहका लागि सोच्ने गरिन्थ्यो । त्यहीअनुसार योजना बनाएर आयात पनि हुन्थ्यो । यस्ता युवाले अभिभावकलाई मनाएर भए पनि स्पोर्टी बाइक किन्थे । अहिलेको परिदृश्य हेर्दा नेपालमा एउटा उमेर समूह नै खाली होला कि जस्तो भइसक्यो । क्याम्पसमा भर्ना हुने र भर्ना भए पनि पूरै अवधि पढ्नेको संख्यामा निकै कमी आइसकेको छ । पहिला दुईपांग्रे सवारीसाधनको लक्षित वर्ष १८ वर्ष उमेर समूहबाट शुरू भएर ४० मा टुंगिन्थ्यो भने अहिले २४÷२५ वर्ष उमेर समूहबाट मात्रै शुरू हुन्छ । यामाहाको बाइकम प्रिमियमनेस छ, स्पोर्टी र युथफुल छ । यो बाइक प्रयोग गर्नेहरु नै २५ वर्षभन्दा माथिको उमेरमा गइसकेको मेरो एक वर्षको अध्ययन र अनुभवले देखाउँछ । यो त युवाहरुले किन्नुपर्ने बाइक हो । उमेर समूहबाट जस्तो खालको माग हुन्छ, हामीले पनि त्यहीअनुसारका दुईपांग्रे सवारीसाधन बढी बिक्री गर्ने हो ।
विद्युतीय स्कुटर किन फस्टाएन ?
विद्युतीय स्कुटरको बिक्री बढ्न नसक्नुका धेरै कारण छन् । दुईपांग्रेमा ‘ईभी इन्डष्ट्रिज’लाई छोएकै छैनौं । जुनसुकै ईभी किन्दा पनि पहिलो चिन्ता भनेको चार्जिङकै हो । घरमा त लामो समय लागे पनि सहजै चार्ज गर्न सकिन्छ । तर सडकमा सबैतिर चार्जिङ स्टेशन छैनन् । भएका पनि छिटो चार्ज गर्ने क्षमताका छैनन् । अर्को कुरा, विद्युतीय दुईपांग्रेमा लामो दूरीको यात्रा गर्न कठिनाइ हुन्छ । लामो दूरीमा चारपांग्रेलाई जस्तो थ्री–फेज चार्जिङ स्टेशन दुईपांग्रेलाई आवश्यक नभए पनि चार्जिङ स्टेशन त चाहिन्छ नै । कुनै पनि दुईपांग्रे ईभी बेच्नेले यस्तो चार्जिङ स्टेशन बनाएका छैनन् । न पेट्रोल पम्पजस्तो व्यावसायिक चार्जिङ स्टेशन बनाउन सरकारले नीतिगत सहजीकरण गरिदिएको छ । अहिलेको विद्युत् महशुल दरअनुसार चार्जिङ स्टेशनमा हुने लगानी गरेर फाइदा हुँदैन । फाइदा नभएपछि कसैले पनि जोखिम मोलेर लगानी गर्दैन ।
दुईपांग्रे ईभीमा प्राविधिक समस्या पनि छ । बजारको प्रतिक्रिया सुन्दा यस्ता साधनमा रेन्ज चाँडै घट्दो रहेछ । ईभी किन्दा जुन रेन्ज र पावर छ भनिन्छ, चलाउने बेलामा त्यो हुँदैन भन्ने उपभोक्ताको अनुभव छ । पेट्रोलबाट चल्ने दुईपांग्रेको माइलेज ईभीमा अनुभूत गर्न सकिन्न । नेपालको बाटो सबै समथर छैन । लामो दूरीमा उकालो–ओरालो लाँदा पेट्रोलबाट चल्ने दुईपांग्रेमा समस्या हुँदैन । तर यस्तो खालको लचकता र सुविधा ईभीमा छैन । शहरी क्षेत्रका लागि भने ईभी राम्रो हो । काठमाडौंजस्ता ठाउँमा धेरै ओहोर–दोहोर गर्नुपर्ने मानिसका लागि ईभीले इन्धनबाट धेरै बचत गर्न सक्छ । सबै ग्राहकले काठमाडौं वा शहरी क्षेत्रका लागि मात्रै सोचेर सवारीसाधन किन्दैनन् । कहिलेकाहीं टाढा जानुप¥यो भने के गर्ने ? भन्ने चिन्ता भइहाल्छ । त्यही भएर मानिसमा दुईपांग्रे ईभीप्रति आत्मविश्वास भइसकेको छैन । यद्यपि, सबै ईभीमा उकालो चढ्न नसक्ने समस्या नहोला ।
दुईपांग्रे ईभी बुझ्नुअघि अटोमाबाइल इको–सिस्टम बुझ्नुपर्छ । नेपालमा एसेम्ब्लिङ युनिट भए पनि वा नभए पनि गाडी बेच्ने अटोमाबाइल कम्पनी मालिक होइनन् । हामी बिक्रेताको मोडलमा छौं । माउ कम्पनीले कुन गाडी बनाउँदै छ, त्यो बिक्रेतालाई थाहा हुन्न । माउ कम्पनीले आरएण्डडी गरेर नेपालको भूगोललाई समेत विचार गरेर गाडी बनाएको छ र बेच्न भन्छ भने आधिकारिक बिक्रेताले बेच्ने हो । कतिपय अवस्थामा कुनै मोडल नेपालको लागि ‘फिजिबल’ नलाग्दा पनि बेच्नुपर्ने हुन्छ । तर माउ कम्पनीले नाफाको हिसाबले ती मोडल बिक्री गरिरहेको हुन्छ । नेपालका कम्पनीले भनेको आधारमा पनि उनीहरुले गाडी बनाएर दिँदैनन् । अहिले नेपालमा चल्तीमा रहेका दुईपांग्रेका ब्राण्डको माउ कम्पनीले ईभी दिए मात्रै बिक्री गर्ने हो । नदिएसम्म नेपालका अटोमाबाइल कम्पनीले ईभी बनाउन भनेर उनीहरुले बनाउँदैनन् । विश्वबजारलाई हेरेर उनीहरुले बनाउने कुरा छुट्टै हो ।
त्यस्तै, माउ कम्पनीले नेपालको बजारलाई अध्ययन गरेको छैन । कुन गाडीको बिक्री कस्तो छ ? त्यो विचार नगरी पठाइएका मोडल बिक्री हुन सक्दैनन् । त्यो भनेको यहाँका कम्पनीहरुको होइन, गाडी निर्माता कम्पनीको असफलता हो । दुईपांग्रे ईभीमा विगतमा भएको पनि त्यही हो । जुन देशबाट ईभी बनेर आयो, त्यो देशको भौतिक पूर्वाधारको अवस्था र नेपालको अवस्था बिल्कुलै फरक छ । त्यसले प्राविधिक रुपमा असफल हुनु स्वाभाविक हो । विगतमा अलिअलि चलेकै दुईपांग्रे ईभी पनि विस्थापित हुँदै गएको देखिन्छ । टीएलजी ब्राण्डको शोरूममा अहिले चहलपहल देखिन्न । टेरा मोटर्स एक समय आयो, गइहाल्यो । नियोको संख्या पनि सडकमा कम हुँदै गएको छ । किनभने सबैले पहिला हेर्ने र देख्ने भनेको सडकमा नै हो । दुईपांग्रे ईभीको ब्याट्री पनि एउटा चिन्ताको विषय हो । आइस इन्जिनका दुईपांग्रेमा जस्तो पावर ईभीको ब्याट्रीमा हुन्न । यसका सीमितता हुन्छन् । ब्याट्रीको क्षमता, महँगो प्रतिस्थापन खर्च पनि ग्राहको एउटा चिन्ताको विषय हो ।
‘मसरूमिङ’ गलत संस्कृति
चीनबाट ईभी आयातमा प्रतिस्पर्धा भइरहेको छ । यसरी चीनबाट गाडी आयात गर्ने कम्पनीको संख्या नै दुई दर्जनभन्दा बढी पुगिसकेको छ, जसमध्ये केहीले डिलरसिप लिए पनि गाडी बेच्न नसकेको अवस्था छ भने कतिपयले राम्रो व्यापार गरेर फाइदा लिएका छन् । नेपालको गलत संस्कृति भनेको ‘मसरूमिङ’ पनि हो । एउटाले राम्रो गरेको देखेपछि अरुले पनि त्यही काम गर्ने । चारपांग्रेमा जस्तो यो समस्या दुईपांग्रेमा देखिन खोजेको छ । गाडी बेच्ने हो भने त उससँग न्यूनतम पूर्वाधार र तयारी हुनैपर्छ । त्यो नहुँदै सस्तोमा ईभी पाइएको छ, सरकारले पनि छुट सहुलियत दिएको छ, ल्याइहालौं, बेचिहालौं, नाफा भएछ भने पूर्वाधार बनाऔंला भन्ने सोचले काम गरेको देखिन्छ । पहिलेदेखि अटोमाबाइल व्यवसाय गर्नेहरुमा त्यो समस्या छैन । किनभने उनीहरुका पहिलेदेखि नै सर्भिस सेन्टर छन् । ईभीका लागि ती सर्भिस सेन्टरको स्तरोन्नति गर्ने र प्रविधिकलाई तालिम दिँदै जाँदा हुन्छ । चार्जिङ स्टेशन निर्माणका काम पनि ठूला अटोमाबाइल कम्पनीले गरिरहेका छन् । जुनसुकै गाडी आयात गर्दा ग्राहकले पछि दुःख नपाउने कुरामा ध्यान दिनु सम्बन्धित व्यवसायीको मात्रै दायित्व होइन, सरकारले पनि विचार गर्नुपर्ने कुरा हो । जसको क्षमता पुगेको छ, जसले संरचना विकास गर्न सक्छ, त्यसलाई मात्र अनुमति दिनुपर्ने हो । तर अनुगमन गर्ने पद्धति सरकारको छैन ।
अहिले केही चिनियाँ दुईपांग्रे ईभी पनि नेपालमा भित्रिएका छन् । यसले नेपालमा लामो समयदेखि बिक्री हुँदै आएका पूराना ब्राण्डलाई नगण्य असर गरेको छ । अहिले ग्राहक आफैं सचेत छन् । लाभ–हानि, जोखिम विश्लेषण गरेका हुन्छन् । चारपांग्रे ईभीमा सस्तो मूल्य र आकर्षक मोडल आएका छन् । त्यसले ग्राहकलाई लोभ्याउनु स्वाभाविक हो । दुईपांग्रे ईभीमा लोभ्याउने कुरा खासै छैन । ग्राहकलाई जबसम्म इच्छा हुन्न, तपाईंले जति जोडबल गरे पनि सामान बिक्री गर्न सकिन्न । कुनै गाडी निर्माता कम्पनीले नयाँ मोडलको गाडी लन्च गर्न लागेको छ भने कतिपय ग्राहकलाई पहिले नै थाहा भइसकेको हुन्छ । गाडीको प्राविधिक पक्ष बिक्रेता कम्पनीका कर्मचारीलाई भन्दा बढी ज्ञान उनीहरुलाई भइसकेको हुन्छ । इन्टरनेटले गर्दा मानिसलाई हरेक क्षेत्रका नयाँ कुरा थाहा भइहाल्छ । चारपांग्रेमा पनि विश्वभर चलेको चिनियाँ ब्राण्ड सबैले किन्छन् भन्ने छैन । दुईपांग्रेमा पनि त्यही नै हो । ग्राहकले भरपर्दो ब्राण्ड नै खोज्छन् । रोज्छन् ।
बजार विस्तारको उपाय
नेपालको अर्थतन्त्र रेमिटान्समा आधारित छ । यस्तो अर्थतन्त्र भनेको बढी जोखिमपूर्ण हुन्छ । रेमिटान्स बढ्दासम्म त ठीकै हुन्छ । घट्दा त्यसले समग्र अर्थतन्त्रलाई संकुचित बनाउँछ भन्ने हामीले भर्खरै भागेको अनुभव हो । त्यस्तै, राजश्वमुखी अर्थतन्त्र अर्को समस्या छ । राजश्व बढाउनुप¥यो भने अटोमाबाइलमा लगाइएको भन्सार दर बढाइदिने, त्यसैबाट देश चलाउने । देशमै उद्योगधन्दाको विकास गर्दै आयात पनि कम गर्ने र निर्यात बढाउने हो भने अर्थतन्त्र आफैं बलियो हुन्छ । युवाहरु विदेश जानै पर्दैन । आयात गर्नैपर्ने वस्तुमा चर्को भन्सार दर लगाउनु पनि पर्दैन । अहिले दुईपांग्रेको व्यापारमा घट्नुमा जुन मुख्य उपयोग गर्ने युवा वर्ग देशमा नभएर हो । उपभोक्ता नै नभएपछि सामानको उत्पादन पनि घट्ने नै भयो । आयात पनि घट्ने नै भयो । हामीलाई उद्योग व्यवसाय गर्ने, रोजगारी गर्ने, उपभोग गर्ने सबै मानिस चाहिएको छ । त्यो सबै गर्ने मुख्य शक्ति भनेको युवा हो । उनीहरुलाई विदेश जान अनुकूल बनाएर देशको व्यापार व्यवसाय र समग्र अर्थतन्त्रको विकास हुन्न ।
देशको स्थिर नीति र युवा पलायनले गर्दा सबै क्षेत्रको बजार अनिश्चित र उतारचढावपूर्ण बन्दै आएको छ । यही बेलामा रूस–युक्रेन युद्ध र मध्यपूर्वको तनावले पनि हामीलाई केही असर गरिरहेको छ । नेपाल विश्व आर्थिक मन्दीको ठूलो प्रभाव पर्ने मुलुक होइन । आन्तरिक समस्या नमिल्दा र हरेक क्षेत्रमा स्थिर नीति नहुँदा समस्या हुँदै आएको हो । त्यो स्थिरता हुने हो भने नेपालमै उद्योगधन्दा फस्टाउँछ । अब ‘मेड इन नेपाल’ले इन्डष्ट्रियल इन्डेपेन्डेन्स’ लिने बेला भयो । अटोमाबाइल क्षेत्रमा केही एसेम्ब्लिङ उद्योग कठिन र जोखिमपूर्ण ढंगले शुरू भएका छन् । यी उद्योग पनि निकै कसरतपछि मात्रै भन्सार र अन्तःशुल्कमा कमी गर्न सरकार तयार भएर शुरू भएका हुन् । पार्टपुर्जा बाहिरबाट ल्याएरै भए पनि नेपालमा दुईपांग्रे र चारपांग्रेको एसेम्ब्लिङ शुरू हुनु भनेको राम्रो शुरूवात हो । यस्ता प्लान्टका कच्चा पदार्थ नै नेपालमा उत्पादन हुने अनुकूल वातावरण सरकारले छिटो बनाउनुपर्छ । नेपाललाई औद्योगिकीकरण गर्ने नीति आवश्यक छ ।
उद्योगमैत्री वातावरण बनाउन सकियो भने नेपालमा ईभी पनि उत्पादन शुरू हुन्छ । किनभने ईभीको भविष्य छ । दुईपांग्रे र चारपांग्रे गाडी बने भने बाहिरबाट आयात गर्दा लाग्ने समय, अनिश्चितता, जोखिम पनि कम भएर जान्छ । मूल्य पनि केही सस्तो हुन्छ । अहिले त दसैं–तिहारका लागि लक्षित गरेर गाडी बेच्न दुई÷तीन महिना पहिले नै ल्याएर गोदाममा राख्नुपर्ने अवस्था छ । जनतालाई आवश्यक कुरा सहज रुपमा उपलब्ध हुने वातावरण बनाउनुपर्ने दायित्व सरकारको पनि हो । दुईपांग्रे अत्यावश्यक सवारीसाधन भएकाले यसको सहज उपलबधता गराउन राज्यका निकायले पनि सहयोग गर्नुपर्छ । हामीले गर्ने भनेको सामान ल्याउने, बजारीकरण गर्ने र ठाउँ ठाउँबाट बेच्ने, मर्मत गर्नुपर्दा सहज रुपमा गर्न सेवा दिन सकिने व्यवस्था मिलाउनु हो । त्यो गरेकै छौं । अहिले विकट गाउँमा पनि दुईपांग्रे सवारीसाधन पु¥याउने काम कम्पनीले गरेका छन् । तर सरकारले सडक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउन सकेको छैन । ढुवानीमा कठिनाइ छ । हरेक सरकारले चर्को कर असुल्ने गर्छ । चारपांग्रेका लागि भन्दा पनि दुईपांग्रेका लागि नीति नियम बढी प्रतिकूल छ ।
यामाहाको एमटी–१५ भी–२ नयाँ आकर्षण
यस वर्ष नाडा अटो शो तथा दसैं–तिहारलाई लक्षित गरेर यामाहाको एमटी–१५ भी–२ आउँदैछ । यो नेकेड स्पोर्ट बाइक हो । स्पोर्ट बाइकको एउटा छुट्टै वर्ग छ र यसको निश्चित बजार छ । स्पोर्ट बाइक मन पराउनेको बजार सुस्त बढ्दै पनि छ । यो बजारलाई हेर्ने योजनाअनुसार एमटी–१५ भी–२ आउन लागेको हो । ग्राहकको आवश्यकता बुझ्ने प्रश्न सोधेर होइन, प्रोडक्ट देखाएर नै हो । यसमा ग्राहकलाई विभिन्न अफर पनि हुन्छन् ।
सिंह एमएडब्लू इन्टरप्राइजेजको सीएमओ हुन् । कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित ।