काठमाडौं । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा १० दिनसम्म एक लाख ११ हजार १२५ का दरले बत्ति बालिने भएको छ ।
धार्मिक रूपमा महत्वपूर्ण स्थल यो ठाउँमा विश्व शान्ति र सद्भावनाका लागि आउँदो मंसिर २२ बाट पुस १ सम्म बत्ति बाल्न लागिएको हो । विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तीर्थस्थल हो ।
‘द इन्ग्रेटिड इन्डिजिनस ट्राइबल चिल्ड्रनस मिनिस्ट्रिस अफ इन्डिया’ को आयोजनामा लुम्बिनीमा १० दिनसम्म बत्ति बाल्न लागिएको सो संस्थाका संस्थापक तथा अध्यक्ष कर्म टासीले बताए । उनका अनुसार यसले सबै धार्मिक सम्प्रदाय र परम्पराका मानिसहरूलाई एकत्रित गर्नेछ ।
कार्यक्रमको उद्घाटन ४१औं शाक्य गोग्मा त्रिचेन रिन्पोछेले गर्नेछन् । बत्ति बाल्ने दिनहरुमा दुई हजार गरिब मानिसहरूलाई खाना खुवाउने कार्यक्रम पनि राखिएको छ । यो कार्यक्रम पूर्णरूपमा धार्मिक पुण्यका लागि भएको र यसमा कुनै व्यवसायिक उद्देश्य नरहेको भन्दै आयोजकले यस कार्यक्रमलाई सहयोग गर्न र सहभागी हुन आग्रह गरेको छ ।
दश दिनमा एक करोड १० लाख रुपियाँको बत्ति बालिने टासीले बताए । लुम्बिनी संसारभरका बौद्धमार्गी र शान्तिप्रेमीहरूको लागि प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत छ ।