काठमाडौं । यसपाली लक्ष्मी पूजाको दिन अर्थात आज विहीबार विद्युतको माग १७ सय मेगावाट हारहारी हुने अनुमान गरिएको छ ।
आज साँझ पिक आवरमा विद्युतको माग १७ सय मेगावाट हारहारी पुग्ने अनुमान नेपाल विद्युत् प्राधिकरणको छ ।
तिहारमा घर, कार्यालय लगायतका ठाउँहरुमा झिलीमिली बत्ती बाल्ने परम्परा छ । त्यसमा पनि लक्ष्मी पुजा कै दिन दिन झिलीमिली बत्ती धेरै बालिन्छ । त्यसमाथि अहिले विद्युतीय दियोहरुको समेत प्रयोग बढ्दै गएको छ । यी यस्ता कारण यो बेला ग्राहस्थ बर्गबाट विद्युत्को माग उच्च हुन्छ ।
सोहीअनुसार यसपाली लक्ष्मी पूजाको दिन विद्युत्को अधिक्तम माग १७ सय मेगावाट हारहारीमा पुग्ने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । साँझ पिक आवरमा विद्युत्को माग सो बराबरको विन्दुमा पुग्ने र अन्य समयमा विद्युत्को माग सामान्य अवस्थामै रहेने बताइएको छ । तिहार बिदाका कारण यो बेला उद्योगहरु पनि बन्द हुन्छन् । त्यसलाई समेत समायोजन गरेर विद्युत्को माग सो विन्दुमा पुग्ने अनुमान गरिएको हो ।
लक्ष्मी पूजा नआएपनि कात्तिक १२–१३ गतेदेखि नै झिलीमिली बत्ती बाल्न सुरु भइसकेको छ । त्यसले गर्दा अहिले पनि विद्युत्को माग उच्च भइसकेको छ । विद्युत् बक्यौताको नाममा उद्योगहरुमा लाइन काट्दा झण्डै २०० सय मेगावाट विद्युत्को खपत भएको छैन । त्यो अवस्थामा समेत अहिले तिहारकै कारण विद्युत्को अधिक्तम माग १५–१६ सय मेगावाट हारहारीमा रहेको छ । लक्ष्मी पुजाको दिन त्यो बढेर १७ सय मेगावाट हारहारी पुग्ने अनुमान गरिएको छ ।
साथै, त्यसका लागि आवश्यक पर्ने विद्युत्को अभाव नहुने प्राधिकरणको दावी छ । प्राधिकरणले २०७३ को लक्ष्मी पूजाकै दिनबाट ग्राहक बर्गमा लोडसेडिङ अन्त्य गरेको थियो । त्यस यता लक्ष्मी पूजामा विद्युत्को अभाव भएको छैन । यसपाली पनि विद्युत्को अभाव नहुने प्राधिकरणको दावी छ ।
तिहार बिदाकै कारण लक्ष्मी पुजाकै दिनबाट उद्योगहरु बन्द हुन्छन् । अन्य कार्यालयहरु पनि बन्द हुन्छन् । त्यसले गर्दा विद्युत्को माग स्वाट्टै घटाउँछ । त्यो अवस्थामा झिलीमिली बत्ती लगायतका विद्युतीय उपकरण प्रयोग गरेर ग्राहक बर्गबाट हुने विद्युत्को माग धान्न सकिने प्राधिकरणको भनाइ छ ।
अहिले विद्युत्को उत्पादन १९ सय मेगावाट हारहारी रहेको छ । त्यो विद्युत्ले तिहारमा हुने विद्युत्को माग धानेर केही मात्रामा निर्यात समेत गर्न सकिने प्राधिकरणको दावी छ ।
पछिल्लो बाढी पहिरोका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशी लगायतका परियोजना बन्द छन् । अहिले झण्डै ६ सय मेगावाट भन्दा बढी विद्युत्को उत्पादन रोकिएको छ । तर, तिहारमा विद्युत् व्यवस्थापन गर्न सकिने प्राधिकरणको दावी छ ।
साथै, भई परिआउने घटना, विद्युत् सेवा अवरुद्ध लगायतका घटनालाई नियन्त्रण तथा व्यवस्थापन गर्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको पनि छ । तिहारमा हुने विद्युत् मागलाई उचित ढंगले व्यवस्थापन गर्न आवश्यक तयारी पुरा भइसकेको पनि प्राधिकरणले बताएको छ । यो बेला लोड बढी भएर विद्युत् सेवा अवरुद्ध हुने जोखिम पनि हुन्छ । अन्य जोखिमहरु पनि हुन्छ । त्यस्तो सम्भावित जोखिमबाट हुने घटनालाई न्युनीकरण गर्न आवश्यक तयारी गरिएको प्राधिकरणको भनाइ छ । तिहारमा विद्युत् सेवा निरन्तर नै बनाउने गरि काम भइसकेको पनि प्राधिकरणले बताएको छ ।
गत बर्षको लक्ष्मी पूजामा भएको थियो १४३८ मेगावाट विद्युतको माग
गत बर्षको तिहारको लक्ष्मी पुजा (कात्तिक २६) मा भने देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट पुगेको थियो । त्यो दिन साँझ ६ बजे पिक डिमाण्ड सो विन्दुमा पुगेको थियो । यसपाली थप बढ्ने अनुमान गरिएको हो ।
२०७९ को लक्ष्मी पूजाको दिन भने विद्युत्को माग १३०५ मेगावाट थियो । त्योअनुसार गत बर्षको लक्ष्मी पूजामा पनि विद्युत्को माग १३३ मेगावाटले बढेको देखिन्छ । गत बर्ष लक्ष्मी पुजामा देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको थियो । अघिल्लो बर्ष लक्ष्मी पूजाको दिनको पिक समयमा ४०६ मेगावाट निर्यात गरिएको थियो । तर, यसपाली बाढीले ६ सय मेगावाट भन्दा बढी विद्युत्को उत्पादन रोकिएको छ । त्योअनुसार आन्तरिक माग धान्न पुगेपनि निर्यात भने धेरै नहुने देखिन्छ ।