चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले गर्‍यो हस्ताक्षर

Advertisement

काठमाडौं । चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकरदाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले शुक्रबार विहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमका बीच अवधारणामा  हस्ताक्षर गरे ।

‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

Advertisement

परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्ध विस्तारमा महत्वपूर्ण पाइला भएको बताए । परराष्ट्र मन्त्री महतले भने, रोड र रेल वे कनेन्टीभिटी हाम्रा लागि महत्वपूर्ण छ । यसमा लगानी होस् भन्ने चाहन्छौं ।’

यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने महतले बताए ।

 परराष्ट्र सचिव वैरागीले नेपालले पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताए ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए ।

चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको छ । तर, यसमा  भारतले हस्ताक्षर गरेको छैन । 

Advertisement