Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले कम्पनीको लगानी विविधिकरणका लागि दुई अर्ब रुपियाँ पुँजीको पब्लिक कम्पनी स्थापना गर्न लागेको जानकारी दिएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपाल लाइफले लगानीका लागि स्थापना गर्न खोजेको सहायक कम्पनीका लागि नेपाल बीमा प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अघि बढाएको जानकारी पनि दिए । नयाँ बीमा ऐनले पनि लगानीको कुरालाई टेकेको बताउँदै सीईओ पराजुलीले सोअनुसार नेपाल लाइफले लगानीको विविधिकरणका लागि खोज गर्न थालिसकेको बताए । 

Advertisement

उनले भने, ‘यसका लागि थप प्रयास के गरेका छौं भने आफ्नै सब्सिडियरी कम्पनी बनाउने लगानीका लागि, विशिष्टिकृतरुमपा गरिने लगानीका लागि दुई अर्बको पब्लिक लिमिटेड कम्पनी स्थापनाको लागि सैद्धान्तिक सहमति लिन सञ्चालक समितिबाट पास गराएर बीमा प्राधिकरणमा पठाइसकेका छौं । यो इन्डेपेन्डेन्ट पब्लिक लिमिटेड कम्पनी हुन्छ । विशिष्टिकृत लगानीहरुलाई यो कम्पनीमार्फत गर्ने । किनभने हाम्रो कोर एक्टिभिटि कोर विजनेशमा हुन्छ भने वैकल्पिक लगानीको कुरा नयाँ इन्भेष्टमेन्ट कम्पनीको विण्डोबाट हुन्छ ताकी संस्थालाई अझै सुदृढ, लगानीलाई अझ विविधिकरण र यसको लाभ सबै सरोकारवालाले पाउने गरेर जाने सोच बनाएका छौं । 

साथै, सीईओ पराजुलीले नेपाल लाइफको कर्पोरेट अफिस र प्रदेश कार्यालयहरुको लागि घरजग्गाको व्यवस्था गर्न टेण्डर आव्हान गरेका छौं । त्यसले पनि गति लिइरहेको उनले बताए । पराजुलीले दीर्घकालिनरुपमा सम्पत्ति जोड्ने कुरा नै हो भने । अहिलेको आर्थिक मन्दीले समग्र बीमा बजार खुम्चिएको स्वीकार गर्दै उनले तर नेपाल लाइफको कार्यक्षमता गत बर्षको भन्दा राम्रो रहेको र बजार हिस्सा बढेको उदाहरण दिए । 

सुनौलो भविश्य जीवन बीमा योजनाअन्तर्गत ‘सिंगल प्रिमियम अप्सन’ किन स्थगित गरियो ? 
नेपाल लाइफले आफ्नो निकै लोकप्रिय प्रोडक्ट (उत्पादन) सुनौलो भविश्य जीवन बीमा योजनाअन्तर्गतको ‘सिंगल प्रिमियम अप्सन’ अहिले स्थगित गरेको छ । यो अप्सन स्थगित भएसँगै सार्वजनिकरुपमा चासो र अन्योलता बढेको बेला सीईओ पराजुलीले पोर्टफोलियो मिक्समा सिंगल प्रिमियमको हिस्सा कुल प्रथम प्रिमियमको अधिकतम् १५ प्रतिशतको हाराहारीमा हुनुपर्छ भन्ने सिद्धान्त रहेको र नियमकले पनि सोही कुरालाई विचार गर्न भनेकाले आफूहरुले अस्थायीरुपमा यो प्लान स्थगित गर्नुपरेको बताए । 

उनका अनुसार सुनौलो भविश्य जीवन बीमा योजना तीन वटा अप्सनमा आएको छ । यो प्रोडक्ट प्रतिस्पर्धी र दीर्घकालिन सोचका साथ ल्याएको हो भन्दै पराजुलीले कम्पनीको सोचअनुसार नै कम्पनीका अभिकर्ताहरुले यो प्रोडक्ट बिक्री गर्न सफल पनि भएको बताए । 

उनले भने, ‘हामीले कसरी हेर्छौं भने प्रोडक्टको पोर्टफोलियो साइजहरु हुन्छ । कतिसम्म साइजमा बिक्री गर्न मिल्ने ? भन्ने कुरा हुन्छ । सुनौलो भविश्यलाई हेर्यौं भने यसले राम्रो व्यापार गर्यो । यो प्रोडक्ट पनि तीन वटा लाइन (अप्सन)मा आएको छ ।’ यी तीन वटा अप्सनमध्ये तेस्र्रो अर्थात सिंगल प्रिमियम अप्सन अल्पकालिनरुपमा स्थगित गरेको सीईओ पराजुलीले बताए । तीन वटै अप्सनको बिक्री र प्रभावकारीको राम्रो हुँदाहुँदै पनि पोर्टफोलियो मिलाउन तेस्रो (सिंगल प्रिमियम अप्सन) प्लानलाई स्थगित गर्नुपरेको उनको भनाई छ । पहिलो दुई वटा प्लानलाई भने अहिलेसम्म स्थगित नगरेको र गर्नु आवश्यक पनि नरहेको पराजुलीले बताए । 

उनले भने, ‘विगत तीन महिनाको कुल फष्ट प्रिमियममा सिंगल प्रिमियमको हिस्सा १५ प्रतिशत नाघेको अनुभूति भयो । हाम्रो पोर्टफोलियोमा त धेरै वटा प्रोडक्ट छ । म्यानेजमेन्टले हेर्ने भनेको नै कुन प्रोडक्टलाई कुन र कति हिस्सासम्म बिक्री गर्ने ? भन्ने हो । कुन समयमा कुन पोर्टफोलियो मिक्स बनाउने ? भन्ने हो ताकी त्यसको लाभ सबै अभिकर्ता, बीमित र शेयरहोल्डरहरुलाई होस् । साथै, संस्थाको वित्तीय अनुशासन पनि कायम रहोस् भन्ने हो ।’ 

Advertisement

Advertisement