तारे होटलमा बिना समन्वय अनुगमन र कारवाही नगर्न हानको उद्योगमन्त्रीलाई आग्रह

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)ले तारे होटलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमन र कारवाहीप्रति उद्योगमन्त्री दामोदर शर्माको ध्यानाकर्षण गराएको छ । 

हानको टोलीले बिहीबार मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राज्यको नियम ऐन कानूनको पूर्ण पालना गर्दै संचालित होटलहरुमा अनुगमनको नाममा अव्यवहारिक व्याख्या गरी कारबाही तथा जरिवाना भएको तथा तारे होटलहरुमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचारहरु बारम्बार आइरहँदा राष्ट्रिय पर्यटन उद्योगप्रति विश्वव्यापी रुपमा नकारात्मक सन्देश जाने र यस कार्यले नेपालको पर्यटन प्रवर्द्धनको गरिमामा समेत आँच आउने बताएको छ । 

Advertisement

विभागले नै यस्ता समाचार प्रेषित गरिँदा पर्यटन उद्योगमा असर परेको उनीहरुको भनाई छ । सरकारबाट हुने निरीक्षण अनुगमनको सराहना पनि हानले गरेको छ । हानको विज्ञप्तिमा भनिएको छ, ‘अझ यसलाई प्रभावकारी बनाउन एकलौटी ढंगबाट मात्र नभएर सरोकारवाला निकायसँगको समन्वयमा हुन सके यस कार्य दीर्घकालिन हुने र अन्तर्राष्ट्रिय चेन तथा ब्राण्ड लगायतका होटलहरुको सञ्चालन पनि व्यवस्थित प्रक्रियाबाट हुने हुँदा म्याद गुुज्रिएका सामानहरु उपभोक्ताहरुले उपभोग गर्ने खानामा प्रयोग नभई यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाई सोधभर्ना गर्ने गरिएको छ ।’

अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरु प्रचारमुखी नभई संयमित ढंगबाट हुनुपर्ने विनायक शाह नेतृत्वको टोलीको भनाई छ । यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भएको र यसबाट नेपाल आउने विदेशी पर्यटकहरुबाट बुकिङ रद्द समेत हुनसक्ने बताएका छन् । 

नजिकिँदै गरेको लगानी सम्मेलनलाई समेत असर गर्ने गरी नेपालको पर्यटन विकास र व्यवस्थालाई समेत चुनौती हुने भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्ने खालको यस्ता प्रचारमुखी क्रियाकलापहरु नदोहोर्याउन पनि होटल व्यवसायीले आग्रह गरेका छन् । 

भेटमा भण्डारीले सचिवहरुलाई समेत साथमा राखेर जायज माग सम्बोधनको आश्वासन दिएको हानको भनाई छ । 

Advertisement