‘देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने काम उर्जा क्षेत्रले गरेको छ’

नेपालमा एक लाख २० हजार मेगावाट स्वच्छ उर्जा उत्पादन गर्न सकिने इप्पानका अध्यक्षको दावी

Advertisement

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एक मुख्य क्षेत्र उर्जा रहेको बताएका छन् । 

चौंथो हिमालयन हाइड्रो एक्स्पो उद्घाटनका क्रममा बिहीबार उनले जलविद्युत लगायतका उर्जा आयोजनाको नियमित निर्माणले उर्जा आयोजनामा सामान आपूर्ति गर्ने विभिन्न क्षेत्रका दर्जनौँ व्यवसायहरुको जीवनयापन भएको जिकिर गरे । 

Advertisement

उर्जा आयोजना निर्माणको चरणमा पाँच लाख भन्दा धेरै दक्ष, अर्धदक्ष र अदक्ष कामदारहरुले रोजगारी पाएको कार्कीले बताए । उनले जलविद्युत आयोजना निर्माण भएका ठाउँमा आयोजनाका तर्फबाट हजारौँ किलोमिटर सडक सञ्जाल बिस्तार हुनका साथै हरेक गाउँमा खानेपानी, स्वास्थ्य, शिक्षा तथा ठूलो लगानी भएको बताए । 

कार्कीले भने, ‘देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एक मुख्य क्षेत्र भनेको उर्जा हो । जलविद्युत लगायतका उर्जा आयोजनाको नियमित निर्माणले उर्जा आयोजनामा सामान आपूर्ति गर्ने विभिन्न क्षेत्रका दर्जनौँ व्यवसायहरुको जीवनयापन भएको छ । उर्जा आयोजना निर्माणको चरणमा पाँच लाख भन्दा धेरै दक्ष, अर्धदक्ष र अदक्ष कामदारहरुले रोजगारी पाएका छन् । जलविद्युत आयोजना निर्माण भएका ठाउँमा आयोजनाका तर्फबाट हजारौँ किलोमिटर सडक सञ्जाल बिस्तार हुनका साथै हरेक गाउँमा खानेपानी, स्वास्थ्य, शिक्षा तथा ठूलो लगानी भएको छ । राज्यले पनि वर्षेनी अर्बौं रुपियाँ रोयल्टी पाउँदै आएको छ ।’

कार्कीले वन, भूमि, स्थानीय स्तरमा आउने समस्याहरुको समाधानका लागि सरकारले अझ बढी उदार हुन आवश्यक रहेको बताए । उनले विश्वको ध्यान हरित उर्जा उत्पादन र उपयोगमा केन्द्रित रहेको भन्दै नेपालमा स्वच्छ उर्जाको रुपमा एक लाख २० हजार मेगावाट जलविद्युत उत्पान गर्ने क्षमता रहेको बताए । 

कार्कीले १३ खर्ब रुपियाँ जलविद्युत आयोजनामा लगानी भइसकेको बताए । उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । सरकारले राखेको २८ हजार सात सय मेगावाट विद्युत उत्पादन गर्नको लागि वन, जग्गा लगायतका विषयमा सहजीकरण गर्नुपर्ने उनले बताए । 

मेलाले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने कार्कीको आशा छ । उनले विदेशी लगानी वृद्धि गर्नको लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउँदै लैजान सरकारसँग आग्रह गरे । 

नेपालका लागि क्यानाडाका राजदुत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिको लागि जलविद्युतको विकास महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा जलविद्युत परियोजनाको विकास गर्नको लागि क्यानाडासँग रहेको शीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ ।’ नवीकरणीय ऊर्जा विकासको लागि अद्यावधिक प्रविधिको प्रयोगमा म्याकीले जोड दिए । 

समद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ शुरु भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले विद्युत निर्यातमाभन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा रहेको बताए । 

Advertisement