तीन सय किलो खसी र कुखुराको किरा परेको मासु नष्ट

Advertisement

काठमाडौंः आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले शुक्रबार गरेको बजार अनुगमनका क्रममा करिब तीनसय किलो खसी र कुखुराको मासु नष्ट गरिएको छ ।

देवी मिट स्टोर नख्खु ललितपुरबाट २०८ किलो, आधुनिक गङ्गा कोल्ड स्टोर नख्खु ललितपुरबाट नौ किलो र लिडिया मिट सप भनीमण्डलबाट ५२ किलो गरी जम्मा २७९ किलो सडेगलेको र किरा परेको मासु नष्ट गरेएको हो । तीमध्ये आधुनिक गङ्गा कोल्ड स्टोरमा सरसफाइको अवस्था अत्यन्तै नाजुक रहेकाले सिलबन्दी पनि गरिएको छ ।

त्यसैगरी यातायाततर्फ यात्रुलाई बढी भाडा लिएको पाएपछि तत्काल बढी भाडा फिर्ता गर्न लगाई २६ वटालाई कारबाही पनि गरिएको छ । विभागले आज नै विभिन्न स्थानमा करिब ३० वटा पसलको अनुगमन गरेको र केही पसलले व्यवसाय दर्ता प्रमाणीकरण नगरेको पाएपछि तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा आउन निर्देशन दिएको छ ।

अनुगमन अधिकृत ढुण्डीराज पोखरेलका अनुसार नियमित अनुगमनकै कारण उपभोक्ता सचेत भएर सामग्री खरिद गर्ने गरेका र कमजोरी भेटे तत्काल खबरदारी गर्ने बानीको विकासले गर्दा बजार व्यवस्थापनमा सकारात्मक परिवर्तन हुँदै आएको छ । माछामासु क्षेत्रमा अझै ठूलो समस्या रहेको हुनाले उपभोक्ता सचेत भएर खरिद गर्न पोखरेलले आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement