प्रस्तावित छ आयोजना चाँडै निष्कर्षमा पुर्याउन एसियाली पूर्वाधार लगानी बैंकसँग अर्थमन्त्रीको आग्रह

Advertisement

काठमाडौंः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली पूर्वाधार विकास बैंकसमक्ष प्रस्तुत छ वटा परियोजनाहरुलाई छिटो निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । कोरियाको जेजुमा आइतबार सम्पन्न उक्त बैंकको बोर्ड अफ गर्भनरको दोस्रो बार्षिक बैठकमा बैंकका अध्यक्ष जीन लिक्वुनसँग उक्त आग्रह गरेका हुन ।

जवाफमा लिक्वुनले ती मध्ये दुई वटालाई यस बर्षको लागि पाइपलाइनमा राखेको भन्दै बाँकी आयोजनालाई पनि छिट््टै अघि बढाउने बताए । उनले आयोजना कार्यान्वयनमा रहेको ढिलासुस्ती र समस्या हटाउन मन्त्री कार्कीलाई आग्रह गरेका थिए ।

नेपाली छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा पुगेका अर्थमन्त्री कार्कीले नेपालमा पूर्वाधार विकासको आवश्यकता रहे पनि यसको लागि पर्याप्त स्रोतको अभाव रहेको भन्दै यसमा पूर्वाधार बैंकको सहयोग आवश्यक रहेको बताए ।

उनले नेपाल राजनीतिक स्थितरतातर्फ उन्मुख रहेको र दलहरुले समेत आर्थिक विकासलाई प्राथमिकता दिएको भन्दै नेपालमा अबका दिनमा लगानी सहज हुने बताए । नेपालको अर्थतन्त्रसमेत सुधारतर्फ गएकाले र यसलाई निरन्तरता दिन नेपाल सरकार प्रतिवद्ध रहेको कार्कीले बताए ।

उनले नेपालले सडक यातायात, विद्युत उत्पादन तथा प्रसारण, शहरी विकास, खानेपानी, हवाई र सुचना प्रविधिलाई प्राथमिकता दिएको भन्दै यी क्षेत्रमा नेपालले पूर्वाधार बैंकको लगानी अपेक्षा गरेको बताए ।

त्यस्तै, बोर्ड अफ गर्भनर्सको दोस्रो बैठकको अन्तिम सत्रमा कार्कीले नेपालमा पूर्वाधारका लागि कुल गार्हस्थ उत्पादनको ९ देखि १० प्रतिशत लगानी गर्नेपर्ने आवश्यक रहे पनि हाल चार प्रतिशत लगानी गर्न सकिएकोले यो अन्तर कम गर्न पूर्वाधार बैंकको सहयोग जरुरी रहेको बताए ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम र एसियाली विकास बैंकलाई स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न अनुमति दिएको भन्दै उनले यसबाट निजी क्षेत्रलाई दिर्घकालिन लगानी गर्न सहयोग पुग्ने बताए । नेपालको निजी क्षेत्रलाई पूर्वाधार विकासमा सहयोग गर्न पनि कार्कीले आग्रह गरे ।

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा ४५ क्षेत्रीय र ३२ गैरक्षत्रीय राष्ट्रको सहभागिता रहेको थियो । बैठकले तीन राष्ट्रको सदस्यता स्वीकृत गरेपछि बैंकको सदस्य संख्या ८० पुगेको छ । दिगो पूर्वाधारलाई मुख्य कार्यसूची बनाइएको बैठकमा जलविद्युत परिवर्तनका नकारात्मक असरलाई कम गर्दै पूर्वाधार विकास गर्ने कुराई जोड दिइएको थियो ।

बैंकले अंगिकार गरेको छरितो, स्वच्छ र हरित बैंकको अवधारणाबमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून र शुन्य कार्बन उत्सर्जन गर्ने आयोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्ने बारेमा छलफल भएको जनाइएको छ । बैठकको उदघाटन कोरियाका राष्ट्रपति मुन जाइनले गरेका थिए ।

Advertisement

Advertisement

Advertisement