वैदेशिक लगानीको प्रतिवद्धता बढ्दा स्वेदशी लगानीको प्रतिवद्धतामा भने भारी गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा स्वदेशी लगानी प्रतिवद्धता घटेको छ । उद्योग विभागबाट प्राप्त चैतसम्मको तथ्यांकले स्वदेशी लगानी प्रतिबद्धता ११.१८ प्रतिशतले घटेको देखाएको हो । 
 
गत आवको चैतसम्म नयाँ उद्योग स्थापना गर्ने गरि एक खर्ब ५१ अर्ब ८९ करोड रुपियाँ बराबरको स्वेदशी लगानी प्रतिवद्धता आएकोमा अहिले चैतसम्म एक खर्ब ३४ अर्ब ९० रुपियाँको मात्रै प्रतिवद्धता आएको हो ।

समीक्षा अवधीमा विदेशी लगानी प्रतिवद्धता भने सामान्य दरमा बढेको छ । प्रतिवद्धता आउँदैमा त्यो लगानी आउने वा हुने कुराको सुनिश्चितता हुँदैन् । सरकारको प्रतिकुल नीति र जटिल प्रशासनिक प्रक्रियाका कारण लगानीकर्ताहरु नेपालमा लगानी गर्न त्यत्ति उत्सुक हुने गरेका छैन् । 

Advertisement

गत आवको चैत मसान्तसम्म २८ अर्ब ११ करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएकोमा यसपाली त्यो भन्दा बढी अर्थात् ३० अर्ब १० करोड रुपियाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । विदेशी लगानी प्रतिवद्धता बढ्दा स्वदेशी लगानी प्रतिवद्धता भने घटेको हो । घटनुमा देशको विषम आर्थिक अवस्था र अस्थिर राजनीति प्रमुख कारकको रुपमा देखिएको छ । 

व्यवसायीमाथि हुने धरपकड र मुद्दाको भारी, उद्योगमा विद्युत् कटौती, नीतिगत अस्थिरता, राजनीतिक अस्थिरता लगायतका कारण स्वदेशी लगानीकर्ताहरु नै नेपालमा लगानी गर्न निरुत्साहित हुने गरेका छन् । स्वदेशी र विदेशी गरेर समीक्षा अवधीमा एक खर्ब ६५ अर्ब रुपियाँ लगानी प्रतिवद्धता आएको छ । 

गत आवको समीक्षा अवधीमा एक खर्ब ८० अर्ब रुपियाँ स्वदेशी तथा विदेशी लगानी प्रतिवद्धता आएकोमा अहिले त्यो एक खर्ब ६५ अर्ब रुपियाँमा सीमित भएको छ । यस अवधीमा २६९ वटा विदेशी लगानी प्रतिवद्धता आएको छ । गत आवको सोही अवधीमा १९२ वटा उद्योग स्थापना गर्ने वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । 

तथ्यांकअनुसार स्वदेशी र विदेशी लगानीमा २८६ उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको देखिन्छ । त्यसमा ठुला उद्योग ३६, मझौला उद्योग २७ र साना उद्योग २२३ रहेका छन् । उक्त उद्योगहरु सञ्चालनमा आएपछि २० हजार १३७ जनालाई रोजगारी सिर्जना हुने विभागको तथ्यांकमा उल्लेख छ । 

उद्योग दर्ता प्रतिवद्धता भने गत आवको सोही अवधीको तुलनामा बढी हो । गत आवको साही अवधीमा स्वदेशी तथा विदेशी लगानीमा २१६ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको थियो । त्यसमा ५२ ठूला, मझौला ६० र साना १०४ वटा उद्योग थियो । उक्त उद्योगहरु सञ्चालनमा आएपछि १६ हजार ३६० जनालाई रोजगारी सिर्जना हुने त्यस बेलाको तथ्यांकमा उल्लेख थियो । 

Advertisement