सौर्यउर्जा अनियमितता विरुद्धको उजुरी अघि नबढाउने शर्तमा रसुवा–भोटेकोसीको पीपीए

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन निर्माणको सुनिश्चितता बिना नै १२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत आयोजनाको बिजुली किन्न अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पिपिए)का लागि ड्राफ्ट एग्रिमेन्ट गरेको छ । प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेपछि मात्रै यसले पूर्णता पाउँछ ।

लाङटाङ भोटेकोसी हाइड्रो पावर प्रालिसँग प्राधिकरणले आइतबार पीपीएको ड्राफ्ट सम्झौता गरेको हो । यो कम्पनी संखुवासभाबाट निर्वाचित साँसद एवं पूर्व खानेपानीमन्त्री दीपक खड्काको हो । उनी सार्वजनिक लेखा समितिका सदस्यसमेत हुने । पीपीए गरिदिएवापत लेखा समितिमा परेको सौर्यऊर्जा फार्म (परियोजना)को अनियमिततासम्वन्धी उजुरी अघि नबढाउन पहल गर्ने आश्वासन दिएका छन् । यद्यपि सभापति उपाध्यायले कसैको दबाबमा पनि छलफललाई नरोक्ने कर्पोरेट नेपालसँगको कुराकानीमा यसअघि बताएका थिए ।

खड्काले सार्यउर्जा परियोजनाको ठेक्का प्रक्रियामा भएको अनियमिततासम्वन्धी उजुरीमाथि छलफल अघि नबढाउन समितिका सभापति डोरप्रसाद उपाध्यायसहितका व्यक्तिलाई मिलाउने र त्यसवापत पीपीए गरिदिनुपर्ने शर्त अघि सारेअनुसार हतारमा यो सम्झौता भएको प्राधिकरण स्रोतको दावी छ । कम्पनीमा खड्काको १० प्रतिशत लगानी रहेको छ भने बाँकी ९० प्रतिशत चिनियाँ लगानी रहेको छ ।

ड्राफ्ट पीपीएलाई नै प्राधिकरण सञ्चालक समितिले स्वीकृत गर्ने चलन भएकाले डलर पिपिए गर्ने यो अहिलेसम्मकै ठूलो आयोजना हुनेछ । ड्राफ्ट पीपीएकै क्रममा प्रवद्र्धकले धरौटीवापत प्रतिमेगावाट छ लाख रुपियाँ प्राधिकरणलई बुझाउनुपर्छ ।

बर्षौदेखि पीपीएको पर्खाइमा रहेका आयोजनाहरुलाई थाँती राखेर प्राधिकरणले करिव छ सात महिनाअघि मात्रै पीपीएका लागि पहल अघि बढाएको प्रवद्र्धकसँग सम्झौता गरिएको हो । माथिल्लो त्रिशुली १, कालिगण्डकी कोवानलगायतका आयोजनाले बर्षौदेखि पीपीएका लागि पर्खिरहेका छन् ।

प्रसारणलाइन निर्माणको समस्याका कारण रसुवा–भोटेकोसी आयोजनाको बिजुली तत्काल इभ्याकुवेट हुने कुनै संभावनै नरहेको आयोजनाको प्रवद्र्धकसँग उर्जामन्त्री समेत नरहेको मौकामा पीपीए गरिएको प्राधिकरणका एक कर्मचारीले बताए ।

यसको मुख्य कारण टेक अर पेको सुविधा लिनु हो । २०७२ सालमा सरकारले जारी गरेको १० बर्षे उर्जा संकट निवारण तथा उर्जा विकास रणनीतिअनुसार २०८२ सालसम्म १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा प्राधिकरणले निजी क्षेत्रका प्रवद्र्धकहरुसँग किन्ने त्यसको ३० प्रतिशत अर्थात तीन हजार मेगावाट विजुली टेक अर पेमा किन्ने भन्ने व्यवस्था गरिएको छ ।

त्यसमध्ये झण्डै दुई हजार आठसय मेगावाट विजुली टेक अफ पेमा भइसकेकोले माथिल्लो त्रिशुली १ वा अन्य कुनै आयोजनाको प्रवद्र्धकसँग पीपीए गर्दा यो टेक अर पेको सीमा पार गर्ने भएकाले हतार हतार लाङटाङ भोटेकोसीसँग सम्झौता गरिएको प्राधिकरणका कर्मचारीको दावी छ ।

उनका अनुसार माथिल्लो त्रिशुली १ सँग सम्झौता गर्नासाथ टेक अर पेको सुविधाको लिमिट क्रस हुन्छ । त्यो भएकाले हतार हतार गरिएको हो । अब पीपीए गर्नेले टेक एण्ड पेमा गर्नुपर्छ ।

टेक अर पेमा सम्झौता गर्ने प्रवद्र्धकसँग प्राधिकरणले आफूलाई बिजुली आवश्यक भए पनि नभए पनि उसले उत्पादन गरेको सबै खरिद गर्नुपर्छ भने टेक एण्ड पेमा सम्झौता गर्दा प्राधिकरणले आफ्नो आवश्यकताअनुसार खरिद गर्नसक्छ ।

प्रतियुनिट झण्डै सात सेन्टमा बिजुली खरिद हुने जनाइएको यस आयोजनामा डलर पीपीएको अवधि १० बर्ष राखिएको छ । निर्माण कार्यभने आउँदो मंसिरसम्म सुरु गरिसक्ने जनाइएको छ । करिब १९ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो आयोजना ४८ महिनामा निर्माण सम्पन्न हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement