लोडसेडिङमुक्त क्षेत्र भनिएको राजधानीमा फेरि घोषितरुपमा लोडसेडिङ सुरु

Advertisement

काठमाडौंः सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएको भन्दै नेपाल विद्युत प्राधिकरणले चाबहिल क्षेत्रमा शनिबार र आइतबारदेखि राजधानीका विभिन्न क्षेत्रमा लोडसेडिङ हुने जनाएको छ । यसअघि प्राविधिक कारण देखाउँदै प्राधिकरणले आक्कल झुक्कल अघोषितरुपमा १५ मिनेट तीन चार घण्टा लोडसेडिङ गर्ने गरेकोमा यस पटक भने जानकारी दिएर लोडसेडिङ गर्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो ।

जसअनुसार चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ भने राजधानीका अन्य क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका क्रममा आवश्यकताअनुसार विद्युत कटौति हुनेछ ।

बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शङखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement